LISTEN LIVE RADIO

लमही नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक: शिक्षा र स्वास्थ्य बढी प्राथामिकता



लमही नगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक: शिक्षा र स्वास्थ्य बढी प्राथामिकता

लमही ९ असार । लमही नगरपालिकाले ०७९÷८० का लागि विहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लमही नगरपालिकाका मेयर जोगराज चौधरीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

लमही नगरपालिकाले शिक्षा र स्वास्थ्यमा बढि प्राथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख चौधरीले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रम अन्तरगत शिक्षामा सरकारी बिद्यालयमा १ देखि कक्षा १० सम्म निःशुल्क पठन पाठनको व्यवस्था मिलाउने उल्लेख गरिएको छ । शिक्षामा सवैको पहुँच पु¥याउनका लागि विशेष कार्यक्रम संचालन गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ ।

यसैगरी स्वास्थ्यको क्षेत्रमा लमहीमा स्वास्थ्यको व्यवस्था सुधारका लागि योजना ल्याउने भएको छ । लमहीले लमहीमा रहेको अस्पतालको स्तरबृद्धि गरेर एक सय सैया पु¥याउने भएको छ । नगरप्रमुख चौधरीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिंदै ६२ बुँदे बार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए।

यसैगरी सरसफाइको क्षेत्रमा ‘मेरो फोहर मेरो जिम्मेवारी’ अभियान चलाउने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । कार्य संम्पादनमा ढिला सुस्ति गर्ने कर्मचारी, अनुशासनको दायरामा नबस्ने र सेवा प्रबाहमा लापरबाही गर्ने शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आचरणमा शून्य सहनशिलताको नीति अबलम्बन गरिने भएको छ । सेवाग्राहीको गुनासोको ब्यबस्थापनलाइ प्रभाबकारी बनाइने कुरा नीति तथा कार्यक्रममा समाबेश गरिएको छ ।

यस्तै नागरिकको सुचनाको हक सुनिश्चित गर्न सुचना ब्यबस्थापन गरिने छ । युवाहरु लागि विभिन्न खेलकुद कार्यक्रम मार्फत प्रतिभा उजागर गरि संरक्षण गरिने छ । लोपोन्मुख, अल्पसंख्यक र सिमान्कृत बालबालिकाहरु लागि स्नातक तहसम्म पठनपाठन निः शुल्क ब्यबस्थापन गरिने उल्लेख गरिएको छ ।

आर्थिक अबस्था कमजोर भएका अपांग तथा असहाय बालबालिकाहरुलाई उच्च प्राथमिकता दिदै कक्षा १२ सम्म छात्रवृत्ति ब्यबस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आज शुक्रबार थप छलफल गरेर सुझावहरु पनि लिइने भएको छ । नगरसभामा उठेका अन्य विषयलाई पनि नीति तथा कार्यक्रममा समेटिने नगरप्रमुख चौधरीले बताए ।

दोस्रो नगर सभाको उद्घाटन नेपाल सरकारका पूर्व सिंचाइ राज्यमन्त्री तथा संविधानसभा सदस्य अमरसिंह पुनले गरेका थिए । कार्यक्रम संम्बोधन गर्दैै पुनले तीन तहको सरकारका बीचमा समन्वयकारी भूमिका नहुँदा भनेजस्तो विकास निर्माणकार्य हुन नसकेको बताए । प्रदेश सरकार र स्थानीय सरकार भनेका नजिक गाउँ घरका सरकार हुन भन्नुहुदै यी दुईबीच अझै राम्रोसँग समन्वय नभएकै कारण बिकास निर्माणकार्यमा समस्या भएको उनको भनाइ थियो ।

प्रदेश सरकार आफ्नो तालमा चल्ने अनि स्थानीय सरकार आफ्नो तालमा चल्न खोज्दा समस्या बल्झिएको उनको भनाई थियो । उनले लमहीमा विकासको राम्रो सम्भावना रहेको भन्दै यसका लागि सवैले भूमिका खेल्नुपर्ने बताए । उनले लुम्बिनी प्रदेशको राजधानीको नजिकको स्थानीय सरकार भनेको लमही नगरपालिका मात्रै रहेकाले यसलाई महानगरपालिकाका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद रेवतीरमण शर्माले लमहीको विकासका लागि सवैपक्षलाई समेटेर अघि बढ्न सुझाव दिए । प्रदेशको राजधानीको नजिकको पालिकाका रुपमा रहेको लमहीले राजधानीको नगरपालिकका रुपमा आफूलाई उभ्याउन सक्नुपर्ने भन्दै सवैसंग सहकार्य गरेर विकास निर्माणका योजनालाई अघि बढाउन सुझाव दिए ।

उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डे, नेकपा माओवादी केन्द्रका दिल कुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका तारा खनाल, नागरिक समाज दाङका उप संयोजक निम बहादुर थापा, लमही नगर संजालका अध्यक्ष जागेश्वर घिमिरे, पत्रकार केपि घिमिरे, निवर्तमान उपमेयर देबका बेल्बासे, लमही नगरपालिकाका प्रबक्ता मोहन गिरी लगायतले सुझाब सहितको मन्तब्य राखेका थिए ।

लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले स्वागत गरेकाे कार्यक्रम सञ्चालन बिपद शाखा प्रमुख गायत्री थापाले गरेका थिए । भने स्वागत उप प्रमुख लक्ष्मी योगीले गरेकी थिइन् ।

पुर्णपाठ

नगर प्रमुख श्री जोगराज चौधरीले   दोस्रो नगरसभाको पहिलो अधिवेशनमा     पेश गर्नु भएको बार्षिक नीति

आ. व. २०७९।०८०

लमही नगरपालिका

असार ९, २०७९

नेपालको संविधान जारी भएपछि दोस्रो पटक देशका सबै स्थानीय तह र वडाहरूको निर्वाचन सम्पन्न भएको छ । निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न यस निर्वाचनले लोकतान्त्रिक पद्धति मार्फत यस नगरपालिकाको लागि दोस्रो चरणका जनप्रतिनिधिहरूलाई नयाँ जनादेश सहित जिम्मेवारी सुम्पेको छ ।यस सुखद अवसर सँगै सम्मानित दोस्रो नगरसभाको पहिलो अधिवेशनलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित भएको छु ।

  • १. यस अवसरमा नेपालको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान साथै लोकतान्त्रिक गणतन्त्रलाई मूर्तरूप दिन आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात शहिदहरू प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहान्छु । सामाजिक न्याय, समावेशिता, राष्ट्रियता प्रति प्रतिबद्ध भई नागरिक हक सहितको समाज निर्माणमा नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान ब्यक्त गर्दै सामाजिक रूपान्तरणको क्रममा घाईते, बेपत्ता ब्यक्ति तथा परिवारहरूलाई सम्मानका साथ सम्झन चाहान्छु ।
  • २. स्थानीय तहको निर्वाचन सफतापूर्वक सम्पन्न गराउने निर्वाचन आयोग, सहयोग पुराउने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा यस प्रक्रियामा संलग्न राजनीतिक दल, सामाजिक संघ संस्था, आमनागरिक र लमही नगरवासीहरू सबैप्रति आभार ब्यक्त गर्दछु ।
  • ३. दुई वर्षदेखी बिश्वब्यापी महामारीको रूपमा फैलिएको संक्रामक कोभिड १९ महामारीले निम्ताएको विषम परिस्थीती हामी सबैको सहकार्यबाट हाल सामान्य हुँदै गएको छ । संक्रमण नियन्त्रण र ब्यवस्थापनमा अहोरात्र खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, जनप्रतिनिधी, स्वयम सेविक, सामाजिक तथा ब्यवसायीक संघसंस्था, टोल विकास संस्था लगायत सम्पूर्ण नागरिकलाई धन्यबाद दिन चाहान्छु । हामी सबैको अथक प्रयत्नको बाबजुद यस भयावह महामारीले हजारौ नागरिकको अमूल्य जीवन लिएको छ वँहाहरू सबै प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहान्छु। मृतकका आफन्त तथा परिवारजनप्रति हार्दिक समबेदना ब्यक्त गर्दै उपचाररतहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
  • ४. लमही नगरपालिका स्थापना भए देखी हाल सम्म नगर निर्माण अभियानमा प्रत्यक्ष वा परोक्ष रूपले योगदान गर्नुहुने स्थानीय बुद्धिजीबी, समाजसेवी, विकासप्रेमी, ब्यवसायी, निजी तथा गैरसरकारी संस्था र यस नगरपालिकाको प्रथम जननिर्वाचित प्रतिनिधीज्यूहरूमा हार्दिक आभार प्रकट गर्दछु ।

आदरणिय उपस्थित महानुभावहरू,

अव म चालु आ.व.२०७८।०७९मा अघि बढाईएका नीति तथा कार्यक्रमहरूको उपलब्धिहरूको बारेमा संक्षेपमा चर्चा गर्न चाहान्छु ।

  • ५. यस स्थानीय सरकारले कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हर सम्भव प्रयास गरेको छ । हाल सम्म लक्षित जनसंख्याको करिव सत-प्रतिशतले पहिलो र दोस्रो मात्रा खोप लागाईसकिएको छ । लगभग २० प्रतिशत जनसंख्याले पूर्ण मात्रा खोप लागाईसकेका छन् । नगरवासीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखी अत्यावश्यक औषधि, स्वास्थ्य सामग्री र जनशक्ती अर्थपूर्ण तरिकाले परिचालन भएका छन् ।

६. राष्ट्रिय भूमि आयोग सँगको सहकार्यमा यस लमही नगरपालिकामा २ सय २४ भूमिहीन दलित, १ हजार ३ सय २० भूमिहिन सुकुम्बासी र ६ हजार २ सय ८ वटा अव्यवस्थित बसोबासीहरूलाइ निस्सा वितरण कार्य सम्पन्न भएको छ ।यस नगरपालिकाको वडा नं. ७, ८ र ९ का जम्मा ७ सय ८४ विगाहा १३ कट्ठा ९ धुर जग्गा नापी गरि नक्सा तयार भएको छ ।

  • ७. कार्यालयबाट सम्पादन गरिने सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र गुणस्तरयुक्त बनाउन सुरू गरिएको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भएको छ । कार्यालय हाता भित्र पार्किङ्ग सहित परिसर निर्माणको कार्य चालु रहेको छ ।
  • ८. लमहीनगरको गौरवकोरूपमा रहेको ३६.५ कि.मी रिङरोड योजना निर्माण कार्य संचालनमा रहेको छ जसमध्ये १२ कि.मि. सडक निर्माण कार्य सम्पन्न भएको छ। नेपाल शहरी विकास मन्त्रालय र विश्व बैंक बिच ॠण सम्झौता भई यस नगरपालिकामा परेको कुल २२ करोड ५६ लाख ६८ हजार ११० रूपैया अनुदान मध्ये चालु आ.व.मा कुल ६ करोड ५० लाख रकम लागतको श्रममूलक रोजगारी लक्षित कार्य सम्पन्न भएको छ ।
  • ९. १०० सैयाको अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ। सबै वडाहरूमा आफ्नै भवनबाट सेवा प्रदान गर्ने लक्ष्य अनुरूप घरभाडामा लिएर सेवा प्रवाह गरिरहेका सम्पूर्ण वडा कार्यालयका भवनहरू मध्ये वडा नं ७ र ९ को कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ । सर्पदंश भवन, रक्त संचार केन्द्रको भवन र २ वटा बर्थिङ सेन्टर भवन निर्माण कार्य सम्पन्न भएको छ ।
  • मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ११ वटा विद्यालयमा १२ वटा पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ । शैक्षिक गुणस्तर सुधार गर्न २ वटा विद्यालयमा वालबालिकाको शिक्षामा पहुँच विस्तारको लागि अनुदान रकम उपलब्ध गराइएको छ । १७ वटा सामुदायिक विद्यालयहरूमा बिद्युतिय हाजिरी मेसिन जडान गरि शिक्षकहरूको समयपालना नियमित गर्ने कार्य सुचारू भएको छ ।
  • कक्षा छाड्ने दर घटाइ बिद्यालय र पढाइ प्रतिको लगाव बढाउन बिपन्न परिवारका २०० बिद्यार्थीहरूको लागि पोशाक, स्टेशनरी, जस्ता सामग्रीहरू उपलब्ध गरिएको छ । कक्षा ६ देखी १२ सम्मका छात्राहरूको लागि स्यानिटरी प्याड वितरण गरिएको छ । शिशु कक्षा देखी ५ कक्षा सम्मका बालबालिकाहरूको लागि दिवा खाजाको ब्यवस्था गरिएको छ ।
  • शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यस नगरपालिकाका २ वटा सामुदायिक बिद्यालयहरूमा ४ कोठे भवन, १ वटा बिद्यालयमा २ कोठे भवन निर्माण गरि शैक्षिक क्षेत्रमा भौतिकरूपले पठनिय शैक्षिक वातावरण तयार गरिएको छ । शैक्षिक शिक्षणमा नविन प्रविधि प्रबर्द्धन गर्ने कार्यको थालनी भएको छ । विद्यालयहरूलाई सूचना प्रविधि मैत्री बनाउन प्रविधियुक्त शैक्षिक सामग्री खरिद भएको छ ।
  • अमेरिकन एम्बेसी मार्फत संचालन भएको छात्रबृत्ति कार्यक्रम अन्तर्गत ४ वटा सामुदायिक बिद्यालयका ४० जना विपन्न परिवारका जेहेन्दार बिद्यार्थीहरूलाइ अंग्रेजी भाषाको सिप अभिबृद्धि गर्न कम्प्युटर शिक्षा प्रदान गर्न र संस्कृति संरक्षण सम्बन्धी चेतना जगाउन प्रति हप्ता ३ दिनका दरले भौतीक कक्षाहरूमा अध्यापन भईरहेका छन् ।
  • बिपदको जोखीमलाई न्यूनिकरण तथा ब्यवस्थापन गर्न वडा देखी नगरसम्म रहेका सुरक्षा निकायहरूमा आधारभुत खोज तथा उद्धारका सामग्रीहरू हस्तान्तरण गरिएको छ ।बिपदका घटनाहरू तत्काल सूचना प्राप्ति तथा सम्प्रेषण गर्न रेडियो सेट खरिद गरि सूचना तथा संचार मन्त्रालयबाट फ्रिक्वयन्सीको अनुमति लिन प्रक्रिया अगाडि बढेको छ ।बिपद पश्चात पीडितहरूलाइ तत्काल उद्धार गरि सुरक्षित बासस्थानको ब्यवस्थापन गर्न आश्रय घर निर्माणको ठेक्का प्रकृयामा गएको छ ।
  • आधुनिक कृषि कार्यमा कृषकहरूलाई आकर्षित गरि दिगो कृषि मार्फत स्थानीय उत्पादन बढाउने उद्देश्यका साथ मुल विउ वितरण तथा मल्चिङ वितरण कार्य सम्पन्न गरिएको छ । पशु सेवालाई प्रभावकारी र गुणस्तरिय बनाउन पशु चिकित्सक सहितको पशु स्वास्थ्य ल्याव संचालन गरिएको छ।यस नगर पशु जन्य उत्पादन (दुध, मासु र फुल) मा आत्मनिर्भर बनेको छ ।
  • आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउन लमही नगरपालिकाको वडा नं. ५ रहेको भ्यूटावर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।जखेरा ताल र बगारबाबा धार्मिक स्थल रिहार क्षेत्रको नगर गुरुयोजना तयार भई पूर्वाधार निर्माण कार्य भईरहेको छ ।
  • दिशाजन्य लेदोको सुरक्षित, वैज्ञानिक, सुलभ तथा गुणस्तरिय व्यवस्थापनका निम्ति प्रशोधन सम्बन्धी उचित व्यवस्था गर्न Treatment Plant निर्माण कार्यको थालनी भएको छ ।

 

  • प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत संचालन भएका कार्यक्रमहरूबाट ७ कि.मि. कृषि सडक, ७.६ कि.मि.गोरेटो बाटो र लगभग १.५ कि.मि. नँया सडक निर्माण कार्य सम्पन्न गरि स्थानीयस्तरमा रोजगारी सृजना भएको छ ।

यस सम्मानित सभामा उपस्थित आदरणिय महानुभावहरू लमही नगरपालिकाको आगामी आ.व.२०७९।०८० को लागि नेपालको संबिधान, स्थानीय सरकार संचालन ऐन, २०७४, दिगो विकासका लक्ष्यहरू, नेपाल सरकारको पन्ध्रौं योजना, प्रदेश सरकारको मार्गदर्शन तथा प्राथमिकताहरू र यस नगरपालिकाको आवश्यकता तथा रणनैतिक योजना समेतलाई आधार मानी कतिपय कानूनी जटिलता, अस्पष्टता, साधान र स्रोतको सिमितताका बावजुद पनि नगरबासीहरूको आशा र अपेक्षाहरूलाई समेट्दै यँहाहरूको चाहना अनुसार तय गरिएका नीतिहरू यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दछु ।

 

  • नगरको प्राथमिकताका आधारमा विकास कार्यक्रम र आयोजनालाई बजेट सँग आबद्ध गरिनेछ । योजनाहरूको प्राथमिकिकरण र पूर्वतयारी गर्न योजना बैंक संचालनमा ल्याईने छ। बजेट कार्यान्वयनमा वित्तिय अनुशासन कायम गरिनेछ ।

 

  • ऐतिहासिक दामोदर मार्गलाई चक्रपथको रूपमा स्तर बृद्धि गरी नगर बस संचालनका आधारकिला निर्माण गरिने छ । दिगो यातायात पूर्वाधार, आर्थिक समृद्धिको आधार भन्ने नारा अवलम्बन गरी लमही देखी बसन्तपुर हुदै सितलापुर सम्म नियमित यातायात संचालनको ब्यवस्था मिलाईने छ ।सिंगे बलरामपुर हुदै अमिलिया जोड्ने चक्रपथको निर्माण कार्यलाई निरन्तरता दिईने छ । निर्मित पूर्वाधारको मर्मत संभारका लागि कोषको ब्यवस्थापन गरि योजना कार्यान्वयन गरिनेछ ।

 

  • लमही नगरपालिका वडा नं. ४ मा अवस्थित बगई सोतामा पक्कि पुल निर्माणको डि.पि.आर बमोजिम निर्माण कार्यलाई यथासिघ्र कार्यान्वयनमा ल्याईने छ ।लमही बजारलाई ब्यवस्थित बनाउन निजी सवारी साधन पार्किङको ब्यवस्थापन गरिने छ ।अटो रिक्साहरूको चापलाई ब्यवस्थित गर्न दर्ता र नविकरणको नीति अवलम्बन गरिने छ ।

 

 

  • आगामी आर्थिक वर्षमा यस नगरका सम्पूर्ण भूमिहीन दलित, सुकुम्बासी र अब्यवस्थित बसोबासीहरूको जग्गा नाप जाँच कार्य सम्पन्न गरी लालपुर्जा वितरण कार्यलाई प्राथमिकतामा राखी अघि बढाइने छ ।

 

  • विद्यमान कर प्रणालिको पुनरावलोकन गरी पारदर्शी एवं व्यवसायमैत्री बनाईनेछ । करको दायरा बढाईनेछ। डिजिटल बैंकिङ्गको अवधारणा अनुरूप सबै वित्तिय कारोबार विद्युतीय माध्यमबाट हुने ब्यवस्था मिलाईनेछ ।

 

  • परम्परागत ज्ञान तथा मौलिक सिपमा आधारित लघु तथा घरेलु उद्योगलाई प्रविधि हस्तान्तरण तथा बजार संरक्षणमार्फत प्रवर्द्धन गरिनेछ । आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आबद्ध गरिनेछ । सहकारी संघसंस्थाको अनुगमन र संस्थागत सुशासन प्रबर्द्धन गरिनेछ ।

उपस्थित महानुभावहरू,

  • नगर समृद्धिको आधार, गुणस्तरिय तथा प्राविधिक शिक्षाको विस्तार भन्ने मुल नारालाई आधार बनाई सभ्य सु–संस्कृत, प्रतिस्पर्धी र आत्मविश्वासी नागरिक बनाउन] प्रभावकारी शिक्षण, गुणस्तरीय सिकाईमा विषेश जोड दिईने छ । विद्यालयको शैक्षिक वातावरण, शिक्षक र विद्यार्थीको उपस्थिती, अन्तरविद्यालय परीक्षा केन्द्र र परीक्षण पद्धती जस्ता कार्यनीति अवलम्बन गरिनेछ ।साथै शिक्षकको क्षमता विकासमा टेवा पुराउने खालका कार्यक्रम सृजना गरी शैक्षिक गुणस्तर सुधार गरिनेछ ।

 

  • हाम्रो विद्यालय, राम्रो विद्यालय अभियानमा सरोकारवालाहरू तथा समुदाय सँग हातेमालो गरी अघी बढ्ने नीति लिईनेछ । कक्षा १० सम्म निःशुल्क शिक्षाको सुनिश्चित गर्न आवश्यकता अनुसार शिक्षण अनुदान उपलब्ध गराईने छ ।

 

  • आर्थिक अवस्था कमजोर भएका, अपांग तथा असहाय बालबालिकाहरूलाई उच्च प्राथमिकता दिदैं १२ कक्षा सम्म छात्रबृत्ति लगायत अन्य सकारात्मक शैक्षिक वातावरण सृजना गरी शैक्षिक गुणस्तर सुधार गरिनेछ ।अभिभावकहरूको भावना र बिद्यार्थीहरूको चाहना अनुरूप बिद्यालयहरूलाई ब्यवस्थित गरी शिशुकक्षा देखी आधारभुत तहसम्म अग्रेंजी माध्यमबाट पठनपाठन संचालन गर्ने ब्यवस्था मिलाईने छ।

 

  • सामुदायिक बिद्यालयका बालविकास केन्द्रहरूको स्तरोन्ती गर्ने कार्यलाई निरन्तरता दिई निम्न बेतनधारी बालविकास केन्द्रका कार्यरत सहजकर्ताहरू, बिद्यालय कर्मचारी र कार्यालय सहयोगीहरूको योगदानलाई उचित मूल्यांकन गरी पारीश्रमिक मिलान गरिने छ ।

 

  • बालबालिकाहरूको क्षमता विकासका लागि खेल शिक्षक, संगित शिक्षक र नृत्य शिक्षकको ब्यवस्थापनका लागि कार्यरत शिक्षकहरूको लागि सिप विकास तालिम संचालन गरिने छ ।

 

  • लोपोन्मुख, अल्पसंख्यक र सिमान्तकृत बालबालिकाहरूको लागि स्नातक तह सम्म निःशुल्क पठनपाठनको ब्यवस्था गरिने छ । गरिब तथा जेहेन्दार बिद्यार्थीहरूको लागी एम.वि.वि.एस गर्न छात्रवृत्ति प्रदान गरिने छ। जीवन पर्यन्त शिक्षालाई निरन्तरता दिन सामुदायिक सिकाई केन्द्रहरूलाई अनुदान उपलब्ध गराउदै प्रविधी मैत्री साक्षरता जस्ता कार्यक्रम संचालन गर्ने नीति लिईने छ ।

 

  • विद्यालय शिक्षाको आधार प्रारम्भिक कक्षाहरूलाई बालमैत्री बनाउन छापामय कक्षाकोठा, तालिम प्राप्त शिक्षक र आधारभुत शैक्षिक सामग्रीहरूको ब्यवस्था मिलाईनेछ ।शैक्षिक अनुदानको कार्यक्रमलाई विद्यार्थी शिक्षक अनुपात, कार्य सम्पादन र विद्यालय सुधार योजना आदिका माध्यमबाट न्यायोचित ढंगले सम्बोधन गर्ने नीति लिईने छ ।

 

  • लमही नगरपालिकाका निजी क्षेत्र र सामाजिक क्षेत्रको संयुक्त सहभागितामा बहुप्राविधिक शिक्षालय स्थापना र संचालनको लागि आवश्यक ब्यवस्था मिलाईनेछ । नमुनायोग्य विद्यालय, विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताहरूलाई सम्मान तथा पुरस्कृत गरिने छ ।

 

  • युवाको लागि खेलकुल, स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै बिभिन्न खालका खेलकुद प्रतियोगिताहरू आयोजना गरी युवाहरूको खेल प्रतिभाको संरक्षण, सम्बर्द्धन गरी राष्ट्र निर्माण एवं विकासमा खेलाडीहरूको भूमिकालाई सवल, सक्षम एवं प्रभावकारी बनाईनेछ ।

आदरणीय महानुभावहरू,

  • रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु भन्ने मुल मन्त्रलाई आत्मसाथ गरि प्रबर्धनात्मक स्वास्थ्य सेवालाई प्राथमिकता दिईने छ । नागरिक आरोग्य केन्द्रलाई थप व्यवस्थित गरीनेछ । हरेक ६/६ महिनामा महिलाको पाठेघरको मुखको क्यान्सर, उच्च रक्तचाप, सुगर लगायत अन्य आधारभुत स्वास्थ्य परिक्षणका लागि बृहत स्वास्थ्य शिविर संचालन गरिने छ ।

 

  • लमही अस्पतालको स्तरोन्नती गरी १०० सैयाको अस्पताल निर्माणका लागि सम्बन्धित निकाय सँग सहकार्य र समन्वय गरिने छ ।स्वास्थ्य चौकीहरूबाट चिकित्सक र प्रयोगशाला सहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा बिशेष जोड दिईने छ । सर्पदंश उपचार केन्द्रलाई थप ब्यवस्थित गरी प्रभावकारी सेवा प्रदान गरिने छ ।

 

  • सुत्केरी महिलाको स्वास्थ्य प्रबर्द्धनमा सहयोग पुर्याउन आमासंग उपमेयर कार्यक्रमलाई निरन्तरता दिईने छ । थारू समुदायलाई आक्रान्त पारिरहेको सिकलसेल एनिमियमाबाट बच्ने उपायहरू तथा उपचार प्रक्रियाको बारे जनचेतनात्मक कार्यक्रमहरू संचालन गरिने छ । क्षयरोग बिरूद्धको अभियान संचालन गरि क्षयरोग मुक्त नगर घोषणा गरिनेछ  ।

 

  • अर्थतन्त्रको मुख्य स्रोतको रूपमा रहेको पशु सेवा क्षेत्रलाई आर्थिक संवाहकको रूपमा अघि बढाउन यस क्षेत्रको प्रारम्भिक जानकारीका लागि आधारभुत तथ्यांक संकलन कार्यक्रम संचालन गरिने छ । आर्थिकरूपमा आत्मनिर्भर बन्न प्रचुर संभावना रहेको पशुपालनको क्षेत्रगत पकेट विस्तार गरी दुध, मासु, माछा र अण्डामा आत्मनिर्भर नगरको विकास गरिने छ ।

 

  • नगरको पुर्वि क्षेत्र, पश्चिमि क्षेत्र र लमही बजारमा साप्ताहिक २ पटक पशु हाट बजार स्थापना गरि पशु ब्यवसायको बजारिकरणलाई ब्यवस्थित गरिने छ । लमही बजारमा पशु बधशाला र बहुउद्देश्यिय मासु पसल निर्माण गरी माछा मासु ब्यवसायलाई ब्यवस्थित बनाईने छ ।

 

  • दुध ब्यवसायलाई दिगो बनाउन बिभिन्न परिकारहरू उत्पादन गर्ने लघु उद्यमको स्थापना गरिने छ । उन्नत जातको पशु पंक्षीहरूको उत्पादनका लागि नश्ल सुधार कार्यक्रमलाई निरन्तरता दिईने छ । पशु सेवा केन्द्र रिहार लाई ब्यवस्थित गरि सहज सेवा प्रवाहको सुनिश्चितता गरिने छ।नगरपालिकाको पूर्वि क्षेत्रमा पशु सेवा केन्द्र थप गरि सेवा प्रारम्भ गरिने छ ।

 आदरणीय उपस्थित महानुभावहरू,

  • कृषिमा यान्त्रिकरण, ब्यवसायीक कृषिको जागरण भन्ने नाराका साथ आन्तरिक उत्पादनमा बृद्धि गर्न कृषिमा आधुनिकरण बैज्ञानिकरण र ब्यवसायीकरण गरिने छ । कृषिलाई आर्थिक बृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गरिनेछ ।

 

  • खाद्यवस्तुको उत्पादन बढाउने तथा प्रशोधन लागत घटाउने कार्यक्रम ल्याईनेछ । गुणस्तरीय, उन्नत तथा वर्णसंकर बीउ विकास गरी बिउबिजनमा आत्मनिर्भर हुने र जलवायु परिवर्तनमा असर धान्न सक्ने स्थानीय बीउबीजनको उत्पादनमा जोड दिईनेछ । अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्न गुणस्तरिय प्रांगारीक मल उत्पादन कार्यक्रमलाई बिशेष जोड दिईनेछ ।गल्ने फोहर र जैविक बस्तु प्रयोग गरि कम्पोष्ट मलको उत्पादन गरि विक्रि वितरणको ब्यवस्था मिलाईने छ । रासायनिक मलको आपूर्ति सुनिश्चित गरिनेछ ।

 

  • ब्यवसायीक कृषकहरूको संरक्षण गरिनेछ । कृषकले उत्पादन गरेको कृषि उपज खरिद बिक्री गर्न कृषि उपज संकलन केन्द्र स्थापना गरिने छ । लमही बजारमा कृषि उपज संकलन तथा बिक्रिवितरण केन्द्र संचालन गरिने छ । कृषि बालिमा पुग्ने क्षतिको राहतको लागि राहत कोषको ब्यवस्था गरिने छ । कृषकहरुलाई बैज्ञानिक बिधि तथा कृषि बालीमा हुने नोक्सानीलाई कम गर्न किसान मैत्री विद्युतिय कृषि एप्लिकेसन निर्माण गरिनेछ ।

 

  • पर्यटनलाई अर्थतन्त्रको गतिशील आयामको रूपमा सबै प्रकारका आर्थिक गतिविधिसँग आबद्ध गरिने छ ।यस क्षेत्रका पर्यटकिय स्थल, धार्मिक तथा सांस्कृतिक स्थल र बस्तुहरूको विविधिकरण गर्दै कृषि पर्यटन, जल पर्यटन र खेल पर्यटनको रूपमा विकास गरि पर्यटन क्षेत्रमा रोजगारी बृद्धि गरिने छ । स्थानीय उत्पादनको प्रबर्धन र बजारीकरण मार्फत आर्थिक आत्मनिर्भर हुन निर्यातमुखि नीति अवलम्बन गरिनेछ ।

 

  • नगरका विभिन्न स्थानहरूमा स्तरिकृत जैविक विविधता पार्क निर्माण गरि पर्यावरण संरक्षण गर्दै ब्यवस्थित पर्यटकिय पार्कको रूपमा विकास गरिने छ । सामुदायिक वन, सार्वजनिक सम्पत्ति र सिमसार क्षेत्रको विशेष संरक्षण गरिनेछ ।

 

  • सांस्कृतिक, प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गरी सांस्कृतिक पर्यटन प्रबर्द्धन गरिने छ । सांस्कृतिक क्षेत्रहरूको संरक्षण, विकास र प्रबर्द्धन गरिने छ । ग्रामिण पर्यटन तथा घरबास(होमस्टे) कार्यक्रमलाई प्रबर्द्धन हुने कार्यक्रमहरू संचालन गरिने छ ।

 

  • पानीको सतह तथा भूमिगत स्रोत संरक्षण गर्दै नगरवासीहरूलाई खानेपानी आपूर्तिको दिगो व्यवस्था मिलाईनेछ । वडा नं. १ र ९ मा खानेपानी आपूर्ति सुनिश्चित गर्न थप स्रोतको अध्ययन गर्न सम्बन्धित निकाय संग समन्वय र सहकार्य गरिनेछ ।

 

  • खुल्ला दिशामुक्त नगरको अभियानलाई निरन्तरता दिन दिशाजन्य लेदो व्यवस्थापन प्रशोधन केन्द्र निर्माण गरी संचालनमा ल्याईने छ । फोहोर ब्यवस्थापनका लागि सरसफाई गुरूयोजना तयार गरिने छ। सफा, स्वच्छ र स्वस्थ नगर निर्माण गर्न सरसफाई अभियान संचालन गरिनेछ ।

 

  • नदी तटिय क्षेत्रमा हुने जलउत्पन्न प्रकोप न्यूनिकरण गर्न मौसम तथा बाढी पूर्वानुमानको गुणस्तरिय र विश्वसनीय सूचना प्रवाह गर्ने ब्यवस्था मिलाईने छ । आपतकालिन अवस्थामा नगरवासीहरूको जनधनको सुरक्षा गर्न हेलिप्याड सहितको आश्रय घर लगायत अन्य आवश्यक पूर्वाधार निर्माण गरिने छ।

 

  • विपद पीडित तथा निजको परिवारलाई प्रदान गरिने राहत, उद्धार तथा अन्य कल्याणकारी सेवालाई थप प्रभावकारी रूपमा तत्काल उपलब्ध हुने प्रबन्ध मिलाई स्थानीय सरकारको अनुभुति दिईने छ ।

 

  • मेरो फोहोर मेरो जिम्मेवारी भन्ने भावना हरेक नगरवासीहरूमा जागृत गराउन सचेतनामुलक कार्यक्रमहरू संचालन गरिने छ । नगर सफाई कार्यलाई अभियानको रूपमा संचालन गरि सुन्दर नगर निर्माण गर्न पहल गरिने छ ।निजी क्षेत्र सँगको साझेदारिमा वातावरणमैत्री प्रविधिमा आधारित फोहर प्रशोधन प्लान्ट स्थापना गर्न प्रकिया अगाडी बढाईने छ ।

आदरणीय उपस्थित महानुभावहरू,

  • महिला, बालबालिका, जेष्ठनागरिक तथा अपांगता भएका ब्यक्तिहरू र दलितको अधिकार सुनिश्चित गर्दै आधारभुत सेवा प्रवाहमा सबैको पहुँच अभिवृद्धि गरिने छ । सेवा प्रवाहमा लक्षित वर्गहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनेछ । सामाजिक कुरीति, छुवाछुत, अन्धविश्वास, लैङ्गिक बिभेद र हिंसाका घटनाहरू न्यूनिकरणका लागि सामाजिक अभियान संचालन गरि समतामूलक समाज निर्माणको आधार तयार गरिने छ ।

 

  • महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक विरूद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाब अन्त्य गर्न उत्तरदायी शासन प्रणालीलाई संस्थागत गर्ने नीति लिईनेछ । हिंसापीडितको तत्काल उद्धार, पुनःस्थापन र परिवारमा पुनःएकीकरण तथा आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाईनेछ । सेफ हाउस र बृद्धाश्रमहरू लाई थप ब्यवस्थित गरिने छ ।

 

  • हिंसामा परेका विशेष संरक्षणको आवश्यकता रहेका लक्षित वर्ग तथा अनाथ बालबालिकाहरूको संरक्षण गरिनेछ । लमही नगरलाई सडक बालबालिका मुक्त, सडक मानव मुक्त गर्न आवश्यक पहल, सहकार्य र समन्वय गरिनेछ । बालबालिकाको अधिकार सुनिश्चित गर्न वडा तह देखी अभियान संचालन गरि बालमैत्री नगर घोषणा गरिने छ ।

 

  • लक्षित वर्गहरूलाई आत्मनिर्भर बनाउन प्रविधि सहितको सिप हस्तान्तरण गराई आर्थिक सशक्तिकरण मार्फत समाज रूपान्तरणमा पहल गरिनेछ ।प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम मार्फत संचालन हुने कार्यक्रमहरूलाई स्थानीय स्तरको विकासलाई प्रबर्द्धन गर्दै रोजगारी प्रदान गरिनेछ ।

 

  • यस पालिकामा सञ्चालन हुने सहकारी संस्थाहरुको नियमनको लागि आवश्यक ऐन, नियमावली, कार्यविधी, निर्देशिका, मापदण्ड तयार गरी समायानुसार परिमार्जन तथा शंशोधन गरिनेछ। सहकारी सम्बन्धी एकिकृत सुचना व्यवस्थापन गर्ने उद्देश्यले सहकारी तथा गरिबी निवारण व्यवस्थापन सुचना प्रणाली (COPOMIS) को प्रयोग गरिनेछ । क्षमता अभिबृद्धिका कार्यक्रमहरू संचालन गरि सहकारी संस्थाहरुलाई प्रर्बधन गरिनेछ। उत्कृष्ठ सहकारी संस्थालाई विषयगत क्षेत्रको आधारमा पुरस्कृत गर्ने व्यवस्था मिलाईनेछ।

 

  • रोजगार प्रबर्द्धन कार्यक्रम मार्फत बैदेशिक रोजगारमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्न , गन्तब्य मुलुकमा सुरक्षित र सम्मानजनकरुपमा काम गर्न सक्ने गरि कामदारलाई सूचना, सिप परामर्श लगायतका सहयोग गर्न र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउने कार्यलाई सम्बोधन गर्ने कार्यक्रमहरू संचालन गरिनेछ ।

आदरणिय उपस्थित महानुभावहरू,

  • नागरिकको सूचनाको हक सुनिश्चित गर्न सूचना व्यवस्थालाई थप प्रभावकारी तथा पारदर्शी बनाईनेछ। कार्यालय संचालनमा  पेपर लेस अवधारणा अवलम्बन गरिनेछ। नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरूबाट आगामी आर्थिक वर्ष २०७९।०८० को सुरूवाती बिन्दुबाटै  सम्पूर्ण कागजात अभिलेखीकरणलाई प्रविधिमैत्री बनाईने छ ।
  • सेवाग्राहीहरूको गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाईने छ । कार्यालयबाट हुने सेवा प्रवाहलाई नागरिकमैत्री, सरल, सहज एवं गुणस्तरीय बनाईने छ । स्थानीय संचार माध्यम तथा संचारकर्मीहरूको क्षमता अभिबृद्धि लक्षित कार्यक्रमहरू संचालनमा ल्याइने छ ।
  • गतिशिल, बहुआयामीक जनशक्ति र संगठनको रूपमा रूपान्तरण गरि प्रक्षेपीत नीति तथा कार्यक्रमको पूर्ण सफलता एवं कार्यान्वयनको लागि जनशक्तिको क्षमता विकास, संस्थागत सुधार र सुदृढीकरण कार्यक्रमहरू उच्च प्राथमिकताका साथ संचालन गरिने छ ।
  • आर्थिक पारदर्शिता र वित्तिय अनुशासनलाई कडाईका साथ पालना गर्दै बेरूजु न्यूनिकरणमा जोड दिइने छ । आर्थिक सविलकरणका लागि बिषयगत क्षेत्रहरूलाई प्रभावकारीरूपमा संचालनमा ल्याइने छ भने दश लाख भन्दा माथीका सबै योजनाहरू बिद्युतिय शिलबन्दी मार्फत संचालन गरिने छ ।
  • उच्च मनोबल सहितको दक्ष, अनुशासित, जवाफदेही तथा लगनशिल कर्मचारी तयार गर्न उत्प्रेरक कार्य वातावरण निर्माण गरिने छ । कर्मचारीहरूको क्षमता विकासका कार्यक्रमहरू संचालन गरिने छ। संघीय सरकारको नीति अनुरूप पारिश्रमिक तथा अन्य सेवा सुविधाहरूको ब्यवस्था गरिने छ ।
  • कार्य सम्पादनमा ढिला सुस्ति गर्ने, अनुशासनको दायरामा नबस्ने र सेवा प्रवाहमा लापरवाही गर्ने शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको आचरणमा शून्य सहनशिलताको नीति अवलम्बन गरिने छ।

धन्यबाद !

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे