LISTEN LIVE RADIO

एलिना चाैहानले धोकेबाज भन्दै लमही महोत्सवमा तहल्का मच्चाइन्, दिनेश काफ्लेले हँसाए



एलिना चाैहानले धोकेबाज भन्दै लमही महोत्सवमा तहल्का मच्चाइन्, दिनेश काफ्लेले हँसाए

लमही ११ माघ । लमही महोत्सवको आज साताैं दिनमा अहिले सम्मकै सवै भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । बिहीबार चर्चित आधुनिक गायिका एलिना चौहान आउने खवरले देउखुरीका विभिन्न ठाउँबाट दर्शकको बाक्लो उपस्थिती रहेको थियो । महोत्सव स्थलमा दर्शकले भरिभराउ देखिन्थ्यो ।

लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित दोस्रो कृषि, पर्यटन, उद्योग तथा व्यापारीक महोत्सवमा बिहीबार साताैं दिन चाैहानले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरु गाएर महोत्सवमा रौनकता थपेकी हुन् । महोत्सव स्थलमा निकै ढिला गरि आएकी चाैहान स्टेज चढ्ने बित्तिकै गीत गाउन सुरू गरेकी थिईन् । चाैहानको पर्खाइमा रहेका दर्शकलाई उनले धोकेबाज हाै तिमी, के माया लाग्छ र, मिनरल वाटर, छुनुमुनु जस्ता चर्चित गीत गाइरहँदा दर्शक दीर्घाबाट वान्स मोरको अत्याधिक हुटिङ आएको थियो । आधा दर्जन गीत गाएकी एलिना यति बेलाकी चर्चित गायिका भएको कार्यक्रममा देखिएको उनको क्रेजले नै पुष्टि गर्छ । एलिनासँग फोटो खिचाउने चाहनाले दर्शकहरु कार्यक्रमको स्टेज तल भीड समेत लागेको थियो ।

त्यस्तै चर्चित हाँस्य टेलिभिजन कार्यक्रम मुन्द्रेकाे कमेडी क्लबका हाँस्य कलाकार एवम् कमिडियन तथा क्यारिकेचर दिनेश काफ्ले (हाउडे)ले पनि विभिन्न नेता, हास्य कलाकार तथा मोटुपत्लुको अभिनय गरेर दर्शकहरूलाई पेट मिचिमिचि हसाएका थिए । त्यस्तै गायक तथा मोडेल विजय पुन, डान्सर सुस्मिता कोइराला, पिडिएच डान्स स्टुडियो, सगरमाथा डान्स ग्रुप र स्थानीय कलाकारहरूले पनि दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । भने गायक तथा उद्घोषक दिपक खड्काले आ-आफ्नो गीत मार्फत दर्शकहरूलाई नचाएका थिए ।

त्यस्तै भोली माघ १२ गते शुक्रबार चर्चित गायिका प्रिति आले आउने भएकी छन् । महोत्सवको आठौं दिन प्रमुख आकर्षणको रुपमा चर्तित गायिक आले सँगै हास्य कलाकार कमल गाउँले, थारू गायक राजेन्द्र चाैधरी, मोडेल अस्मिता पुरिको प्रस्तुती रहने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन्

जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने तथा वनलाई पर्या पर्यटन प्रवद्र्धनका लागि विशेष सहयोग गर्ने मुख्य उदेश्यले लमही चेम्बर अफ कमर्सको आयोजनामा यही माघ ५ गते देखि २० गते सम्म लमहीको जैविक विविधता ग्रिन पार्कको छेउमा महोत्सव सञ्चालन गरिएको छ ।

महोत्सवमा विभिन्न १ सय ८० बढी स्टलहरु राखिएको छ भने देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादनका सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु, चर्खे पिङ, झुला, बाल उद्यान, लगायतका मनोरन्जनात्मक बस्तु राखिएको छ । महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, बाल उद्यान, देउखुरीका हस्तकलाका सामाग्री बिक्री, महिला उद्यमीले तयार गरेका अचार लगायतका सामाग्रीमा जोड दिइएको छ । महोत्सव अवधीधर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सव अवधिभर करिब ३ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको चेम्बरका महासचिव केशव अधिकारीले जानकारी दिएका छन् । महोत्सवमा कृषि तथा स्वास्थ्यका स्टललाई निशुल्क गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक तथा असाहयहरूलाई परिचय–पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । त्यस्तै विद्यार्थीको हकमा परिचय–पत्रका आधारमा ८० रूपैयाँ र सर्वसाधारणका लागि लागि १ सय रूपैयाँ टिकट कायम चेम्बरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे