LISTEN LIVE RADIO

‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी



‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी

२९ साउन, काठमाडौं । थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी फाइनल भएका छन् ।

काठमाडौं, बुटवल र दाङमा शनिबार गरिएको अडिसनसँगै अन्तिम प्रतिस्पर्धीहरूको टुंगो लागेको हो । अन्तिम अडिसनमा काठमाडौंबाट १९, बुटवलबाट पाँच र दाङबाट दुई अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । अडिसन पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका सहरहरूमा गरिएको थियो । यसअघि भएको अडिसनमा विराटनगरबाट तीन, लहानबाट तीन, टीकापुरबाट तीन, झुम्काबाट तीन, वीरगञ्जबाट तीन, भरतपुरबाट चार, नेपालगञ्जबाट ६ जना छनोट भएका थिए ।

अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरूको विशेष प्रशिक्षण कार्यक्रम भदौं पहिलो साताबाटै काठमाडौँमा सुरु गरिने आयोजक जहइन्टरटेनेमन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले जानकारी दिनुभयाे । उनीहरूलाई ग्रान्ड फिनालेको केही दिन अगाडिसम्म विभिन्न विषयमा महत्वपूर्ण प्रशिक्षण दिइने छ ।

प्रतियोगिताका विजेताहरूले नगद, क्राउनलगायतका अन्य उपहारहरू पाउने छन् । यसपटकको ग्राण्ड फिनाले काठमाडौंँमा गर्ने आयोजकको तयारी छ । गत सम्पन्न तेस्रो संस्करणको ग्रान्ड फिनाले चितवनमा गरिएको थियो ।

यो प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी हुनुभएकाे थियाे भने मिस थारु जेनिशा चौधरी हुनुभएकाे थियाे । त्यस्तै, २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी हुनुभएकाे थियाे । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु हुनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे