LISTEN LIVE RADIO

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीद्वारा दर्जन बढी कलाकार सम्मानित



राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीद्वारा दर्जन बढी कलाकार सम्मानित

देउखुरी टुडेकर्मी, दाङ २६ असोज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले बिभिन्न बिधाका दर्जन बढी कलाकारहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानको १२ औं साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

प्रतिष्ठानले अग्रज कलाकार (श्रष्ठा) सम्मानबाट प्रतिष्ठान रुपन्देहीका पूर्व अध्यक्ष बलराम पौडेल, अग्रज बाध्यबादन सम्मानबाट बाबुराम गन्धर्व, लोक पत्रकारिता सम्मानबाट पत्रकार दिनेश पाण्डे, अग्रज आजिवन सदस्य तर्फ संस्थापक कोषाध्यक्ष मानबहादुर केसी र नवप्रतिभा तर्फ डान्सर तथा मोडल प्रशिद्धि ढकाललाई सम्मान गरिएको प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक कार्कीले बताए ।

त्यस्तैगरी साधारण सभाकै अवसरमा प्रतिष्ठानले बिभिन्न प्रतियोगिताहरुमा भाग लिएर उत्कृष्टता हासिल गरेका गायक गायिकाहरु लालमायाँ थापा पुन, बिक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेतलाई सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा बिशेष सहयोगी महाराजा रिसोर्टलाई संस्थागत सम्मान प्रदान गरिएको छ । प्रतिष्ठानले सक्रिय आजिवन केशवबहादुर कुवँर, वर्ष उत्कृष्ट महिला सदस्य तर्फ कार्यसमिति सदस्य रेणु राना मगर र वर्ष उत्कृष्ट पुरुष सदस्य तर्फ कार्यसमिति सदस्य रामप्रसाद पाण्डेलाई सम्मान गरेको छ ।

त्यसै अवसरमा प्रतिष्ठानले सल्लाहकार स्वागत कार्यक्रम समेत गरेको छ ।प्रतिष्ठानले सल्लाहकारहरु मोदनाथ वेलवासे, जयप्रकाश भट्टराई, बाबुराम बोहोरा, यमलाल लोहनी, समुन्द्र जिसी, योग गुरुङ र नारायणबहादुर रायमाझीलाई स्वागत गरेको हो ।

प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक कार्कीले कोरोना भाईरस महामारीका कारण प्रतिष्ठानले आफ्ना गतिबिधिलाई नियमित रुपमा सञ्चालन गर्न नसकिए पनि कलाकारको हक हितमा काम गरिरहेको दावी गरे । उनले महामारीको समयमा कार्यक्रम भन्दा पनि स्वास्थ्यलाई ध्यान दिनुपर्ने उल्लेख गरे । अध्यक्ष कार्कीले लोक दोहोरीको प्रवद्र्धन र देशभरीमा उत्कृष्ट रहेको रुपन्देहीको जिल्लाको साख कायम राख्नको लागि प्रतिष्ठानका सदस्य तथा सुभेच्छुकहरुको साथ र सहयोगको समेत आग्रह गरे ।
साधारण सभामा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, निवर्तमान अध्यक्ष बद्रि पंगेनी, उपाध्यक्ष रिता थापा, महासचिव सुवास केसी, सचिव प्रचण्ड जिसी, लुम्बिनी प्रदेश समितिका सचिव टिकाराम लुईटेल, सल्लाहकार यमलाल लोहनी, सम्मानित बलराम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सचिव उज्वल गिरी तथा सहसचिव बिधान कार्कीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे