विपन्न नागरिकको सहारा बन्दै आशाका किरण : बगासोतीका ७ घरलाई खाद्यान्न र स्टेचर सहयोग
भालुवाङ १४ चैत । दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा रहेको आशाका किरण संस्था पछिल्लो समय गरिव तथा विपन्न नागरिकहरूको सहारा बन्दै जान थालेको छ ।
दैनिक जीवन गुजार्न समेत कठिनाइ भोगिरहेका स्थानीय बासिन्दाका लागि संस्थाले निरन्तर राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै क्रममा संस्थाले शनिबार राप्ती गाउँपालिका-१ बगासोतीका ७ गरिव तथा विपन्न घरपरिवारलाई खाद्यान्न र १ वटा स्टेचर प्रदान गरेको छ । संस्थाका अध्यक्ष दिवस आचार्यको नेतृत्वमा गाउँमै पुगेर संस्थाले खाद्यान्न र स्टेचर सहयोग गरेको हो । देश तथा विदेशमा रहेका दाताहरूबाट प्राप्त १७ हजार २ सय ६० रूपैयाँ बराबरको खाद्यान्न सामाग्री सो गाउँका चुमानसिंह रोकामगर, श्यामबहादुर रोका मगर, टोपबहादुर रोका मगर, भिमबहादुर रोका मगर, टोपबहादुर सोती मगर, बालापुरे कुमाल र नरबहादुर पुलामीलाई २०/२० केजी चामल, ३/३ केजी दाल, ४/४ पोका खाने तेल सहयोग गरेको छ ।
खाद्यान्न वितरण गरिएको घरपरिवारहरू आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थाबाट गुज्रिरहेका छन् । स्थायी आम्दानीको स्रोत नभएका कारण दैनिक छाक टार्न समेत धौ–धौ पर्ने अवस्था छ । यस्तो अवस्थामा प्राप्त खाद्यान्न सहयोग उनीहरूका लागि ठूलो राहत बनेको छ। सहयोग पाएपछि स्थानीयहरूले खुसी व्यक्त गर्दै सरकारले गर्नुपर्ने कामसमेत संस्थाले गरिरहेको भन्दै प्रशंसा गरेका छन्। खाद्यान्न वितरणसँगै संस्थाले गाउँका लागि अत्यन्तै आवश्यक पर्ने स्वास्थ्य सम्बन्धी सामग्री समेत उपलब्ध गराएको छ। गाउँमा कोही बिरामी परे वा सुत्केरी अवस्थाका महिलालाई अस्पताल पुर्याउन सहज बनाउने उद्देश्यले ५ हजार रुपैयाँ मूल्य बराबरको स्टेचर पनि हस्तान्तरण गरेको छ । उक्त स्टेचर विष्णु रोकालाई जिम्मा लगाइएको छ, जसले गाउँमा आपतकालीन अवस्थामा उपयोग हुने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमा सडक तथा यातायातको सहज पहुँच नभएका कारण बिरामी तथा सुत्केरी महिलालाई अस्पताल पुर्याउन निकै कठिन हुने गरेको छ। यस्तो अवस्थामा स्टेचरको उपलब्धताले समयमै उपचारका लागि सहयोग पुग्ने विश्वास गरिएको छ। गाउँलेहरूका अनुसार, यसअघि यस्ता अवस्थामा बिरामीलाई बोकेर लामो दूरी पार गर्नुपर्ने बाध्यता थियो, जसले थप जोखिम बढाउने गरेको थियो। संस्थाका अध्यक्ष दिवस आचार्यले विपन्न समुदायको जीवनस्तर उकास्न सानो प्रयास भए पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामीले सानो सहयोग गरे पनि यसले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।” उनले सहयोग गर्ने सबै दाताहरूप्रति आभार व्यक्त गर्दै अझ बढी सहयोग र साथको अपेक्षा समेत राखे।
आशाका किरण संस्थाले यसअघि पनि विभिन्न ठाउँमा राहत तथा सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर, असहाय तथा विपन्न समुदायलाई लक्षित गर्दै खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएको संस्थाले जनाएको छ। हाल देशका विभिन्न स्थानमा आर्थिक असमानता, बेरोजगारी तथा प्राकृतिक विपत्तिका कारण धेरै परिवारहरू कठिन अवस्थामा रहेका छन्। यस्तो अवस्थामा स्थानीयस्तरमा सक्रिय सामाजिक संस्थाहरूको योगदान उल्लेखनीय बन्ने गरेको छ। आशाका किरण जस्ता संस्थाहरूले देखाएको पहलले अन्य संघसंस्थालाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। खाद्यान्न वितरण गर्न संस्थाका संस्थापक अध्यक्ष सुर्यकिरण केसी, प्रेस संयोजक ओमप्रकाश गुप्ता, प्रेस सल्लाहकार भिसुन शाही, संस्थाका उपाध्यक्ष थमन राना, महासचिव लोकमणी भुसाल, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, सहकोषाध्यक्ष शिवराज भुसाल र सदस्यहरू सिर्जना खड्का, बन्दना पुन मगर, सोनिया रोका मगर गएका थिए ।

