बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक



बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

काठमाडौं ७ पुस । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो निर्देशन दिएको छ ।

अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् । यस्तो निर्णय बुधबार राति १२ बजेबाट लागू हुने भएको छ ।

अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायमै रहने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार बेलायतमा पछिल्लो समय देखिएको कोरोना भाइरसलाई दृष्टिगत गरी बेलायतबाट हुने उडानमा रोक लागेको हो ।

यससँगै अब नेपालबाट बेलायत जाने यात्रुको यात्रामा समेत रोक लागेको छ । प्राधिकरणले बेलायतबाट हुने सबै उडानमा रोक लगाउने निर्णय गरेसँगै नेपालबाट समेत उडान बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे