७२ घण्टाभित्र तालिबानले काबुल नियन्त्रण गर्न सक्ने अमेरिकी गुप्तचर निकायको अनुमान्



७२ घण्टाभित्र तालिबानले काबुल नियन्त्रण गर्न सक्ने अमेरिकी गुप्तचर निकायको अनुमान्

काठमाण्डाै ३० साउन । तालिबानले आउँदो ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायले गरेको सीएनएनले जनाएको छ ।

तालिबान लडाकु राजधानी प्रवेश गर्ने अन्तिम तयारीमा रहेको बेला अमेरिका र बेलायतले सेना पठाएर अफगानिस्तानबाट आफ्ना कुटनीतिक कर्मचारी तथा रोकिएका आफ्ना नागरिक लैजान थालेका छन् । अमेरिकाले काबुलमा रहेको आफ्नो दूतावासका संवेदनशील सामग्रीहरु नष्ट गरेको बीबीसीले जनाएको छ । ती सामग्री तालिबानको हातमा पुगेमा प्राेपागान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम हुने भएकाले त्यस्ता सामाग्री नष्ट गरेको जनाइएको छ ।

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गर्नुभएको छ । देशका ३४ प्रान्तमध्ये १८ प्रान्त तालिबानी लडाकुको कब्जामा पुगिसकेको बेला आज देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति घानीले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेकाे बीबीसीले जनाएको छ । उनले आफू तत्काल राजीनामा नदिने बताए ।

अहिले अफगानिस्तान ठूलो संकटमा गुज्रिएको भन्दै घानीले पछिल्लो परिस्थितिबारे आफूले विश्व नेताहरुसँग छलफल गरिरहेको समेत बताए । तालिबानी लडाकु समूह केन्द्रीय राजधानी काबुलबाट ४० किलोमिटर भन्दा पनि नजिक आइसकेकाे बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे