LISTEN LIVE RADIO

जेलबाट छुटेकाे चार दिनपछि दुर्गाप्रसादले नागरिकता पाए



जेलबाट छुटेकाे चार दिनपछि दुर्गाप्रसादले नागरिकता पाए

इलाम १२ चैत्र । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गृह जिल्ला फर्किनुभएका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । इलामको माई नगरपालिका – १० लुम्बाकका तिम्सिनाले बिहीवार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन्।

उनीआफ्ना भतिज गोपाल तिम्सिना, भिनाजु खडानन्द गजुरेल, भाइ धिरेन्द्र शर्मा रमणलगायत जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका थिए । नागरिकताका लागि कार्यालय पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँलले ०३-०१-७७ -०३२५१ नम्बर भएकाे नागरिकता प्रदान गरेका हुन्  ।

उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले टीका लगाउँदै खादा ओढाएर सम्मान पनि गरेका छन् । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख गरिएको छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा खुसी भएको उनले प्रतिक्रिया दिए ।

नागरिकता प्रदान गर्दै अधिकृत फुयाँलले नेपाली नागरिक जुनसुकै उमेर समूहका भए पनि नागरिकता प्राप्तिको प्रक्रिया चालेपछि कार्यालयले नागरिकता प्रदान गर्ने बताउनुभयो । कार्यालयमा तिम्सिना आइ पुगेकाे २० मिनेट भित्रै नागरिकता प्रदान गरिएको थियो ।

तिम्सिनालाई कोलकाता उच्च अदालतले जेलबाट गएको चैत ४ गते बुधवार रिहाइको आदेश दिएको थियो । आदेशअनुसार उनी शनिवार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुटेका हुन् । व्यक्ति हत्या अभियोगमा सुनुवाइविना नै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार घर अाइपुगेका थिए  ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे