LISTEN LIVE RADIO

बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले उपाधी जित्यो



बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले उपाधी जित्यो

काठमाण्डाै ३१ असार । बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ ।

आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

नेपालकाे जितमा वैकल्पिक गाेलकिपर अञ्जना राना मगरले उत्कृष्ट प्रदर्शन गरिन् । अञ्जना खेलकाे ९० औँ मिनेटमा एन्जिला तुम्बापाे सुब्बाकाे ठाउँमा मैदान छिरेकी थिइन् । अञ्जनाले पेनाल्टी शुटआउटमा बङ्गलादेशकी शेउली अजीम र मारिया मान्डाकाे प्रहार राेकिन् । यद्यपि उनले पेनाल्टी शुटआउटमा गाेल गर्न सकिनन् । नेपालका लागि सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही रअनिता केसीले गाेल गरे ।

यसअघि गएकाे बिहीवार भएको पहिलो खेलमा नेपाल र बङ्लादेशले १–१ गाेलको बराबरी खेलेका थिए । याेसँगै नेपालले गएकाे वर्ष काठमाण्डाैमा भएकाे साफ च्याम्पियनशिपकाे फाइनलमा हारेकाे बदला लिएकाे छ । नेपाल साफ फाइनलमा बङ्लादेशसँग ३–१ गाेलले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे