LISTEN LIVE RADIO

बाजुरा भुकम्प अपडेट : अहिले सम्म एक जनाको मृत्यु, एक घाइते, कम्तीमा २५ घर भत्किए



धनगढी १० माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण बाजुराका विभिन्न ठाउँमा गरी २५ घर भत्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भुकम्पका कारण जिल्लाभर भएको घटनाको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ। गौमुल गाउँपालिका वडा न २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घाँस काटिरहेकाबेला माथिबाट ढुंगा खस्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । घटना भएको ठाउँमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताए ।

 

त्यसैगरी, भेडा चराउन गएका गौमुल गाउँपालिका वडा नं. १ का एक जना घाइते भएका छन्।  जंगलमा भेडा चराउन गएकाबेला माथिबाट भीर फुटेर पहिरो जाँदा ५० देखि ६० भेडा मरेका र गोठालो गएका रामदल बोहरा घाइते भएको स्थानीयले बताएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको स्थानीय सुवास रोकायाले जानकारी दिए ।

 

यसैगरी, खप्तड छेडेदह वडा नः ५ मा दुई वटा छाना भत्किएको र गिठे लुहारको घर भत्किएको जानकारी प्राप्त भएको छ। त्यसैगरी मष्टेश्वरी माविको भवन भत्केको गाउँपालिकाले जनाएको छ। सोही गाउँपालिका ४ का कल्चु सार्की र गोपाल दमाईका घर भत्किएको वडा अध्यक्ष दल रावतले बताए। जिल्लाभर भएको अन्य क्षतिको विवरण आइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे