LISTEN LIVE RADIO

चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गर्ने तयारी, आज अध्यागमनमा बुझाइँदै



चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गर्ने तयारी, आज अध्यागमनमा बुझाइँदै

काठमाण्डाै ८ पुस । नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई रिहा गरेर स्वदेश फिर्ता गर्ने तयारी भइरहेको छ । सर्वोच्च अदालतको आदेशपछि उनलाई आज अध्यागमनमा बुझाउने तयारी भइरहेको केन्द्रीय कारागारले जनाएको छ ।

केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्च अदालतले रिहा गरी फिर्ता पठाउन अर्थात् (डिपोर्ट गर्न) आदेश दिएकोमा आवश्यक प्रक्रिया पूरा गरी आज रिहा गरी अध्यागमन विभागलाई बुझाउने तयारी भएको कारागार व्यवस्था विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले जानकारी दिए ।

न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधवार नै रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न समय लागेको थियो ।

शोभराज माथि २०३२ सालमा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाण्डौको मनोहरामा र त्यसको दुई दिनपछि क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या गरेको आरोप थियो ।

हत्यापछि फरार शोभराज २०६१ सालमा पुनः काठमाण्डौ आएका बेला पक्राउ परेका थिए । काठमाण्डौ र भक्तपुर जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका उनलाई फरक/फरक समयमा जन्मकैदको  फैसला  भएको  थियो ।

दुई  विदेशी  नागरिकको  हत्यामा  दोषी  ठहर  भएका  शोभराजमाथि  जाली  राहदानी  प्रयोग गरेको समेत आरोप छ । पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।

अध्यागमन विभागले शोभराजले  नेपाल  आउँदा प्रयोग  गरेको राहदानी र कागजपत्र जाँच गरी प्रक्रिया पुर्याएर फिर्ता गर्ने तयारी गरेको जनाएको छ । तर अध्यागमन विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले शोभराजलाई स्वदेश फर्काउनुअघि के गर्ने भनेर टुङ्गो लाग्न बाँकी रहेको बताए ।

शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका देशमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ । तर नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको हो ।  ७८ वर्षीय शोभराजले नेपाल र भारतसहित ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा नै बिताएका छन् ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ । नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि यो व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटक/पटक निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे