LISTEN LIVE RADIO

समानुपातिकतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिह्नकाे सङ्ख्या फरक हुने



समानुपातिकतर्फ प्रदेश अनुसार मतपत्रमा चुनाव चिह्नकाे सङ्ख्या फरक हुने

काठमाण्डाै १३ कार्तिक । आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशअनुसार मतपत्रमा चुनाव चिह्नकाे सङ्ख्या फरक–फरक हुने निर्वाचन आयोगले जनाएको छ । जसअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ५९ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुनेछ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २८ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै प्रदेश नम्बर १ मा ५५ वटा चुनाव चिह्न भएको मतपत्र हुने छ । बाग्मतीमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने छ भने सुदूरपश्चिम प्रदेशमा ३४ वटा चुनाव चिह्न भएको मतपत्र प्रयोग हुने छ । यस्तै प्रदेश नम्बर १ मा बन्दसूची बुझाउने दल भने ३६ मात्र रहेका छन् । त्यस्तै मधेशमा ३६, बाग्मतीमा ४०, गण्डकीमा ३१ र लुम्बिनीमा ३२ वटा दलले मात्र बन्दसूची पेस गरेका छन् । कर्णाली प्रदेशमा चुनावमा सहभागिताका लागि निवेदन दिने दलको सङ्ख्या ४९ छ । त्यस्तै सुदूरपश्चिममा ५० वटा दलले सहभागिताका लागि निवेदन दिएका थिए ।

प्रदेश सभामा प्रदेश १ बाट ३७ जना, मधेशमा ४३ जना, बागमतीमा ४४ जना, गण्डकीमा २४ जना, लुम्बिनीमा ३५ जना, कर्णालीमा १६ जना र सुदूरपश्चिममा २१ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्य निर्वाचित हुनेछन् । प्रतिनिधि सभातर्फ भने देशभर ४७ वटा चुनाव चिह्न प्रयोग हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे