LISTEN LIVE RADIO

सरकार बनेको दुई महिनापछि बल्ल एक मन्त्री थपिँदै, परराष्ट्र मन्त्रालय कांग्रेसलाई



सरकार बनेको दुई महिनापछि बल्ल एक मन्त्री थपिँदै, परराष्ट्र मन्त्रालय कांग्रेसलाई

काठमाण्डाै ६ असाेज । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल एक मन्त्री थप्न लाग्नुभएको छ । सत्ता गठबन्धनको हिजो बसेको बैठकमा परराष्ट्रमन्त्री कांग्रेसलाई दिने सहमति भएपछि सकेसम्म आज, नभए भोलि परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभाको ७६ औँ महासभामा प्रतिनिधि पठाउन तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्ने बाध्यता सरकारलाई छ । त्यसकै लागि प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्री नियुक्त गर्न लाग्नु भएको हो । तर, अन्य मन्त्रीका विषयमा दलहरूबीच अझै सहमति जुटिसकेको छैन । १६ मन्त्रालय अझै नेतृत्वविहीन छन् । मुख्य मुख्य मन्त्रालयमा पनि मन्त्रीहरू नियुक्त गर्दै जाने सत्ता गठबन्धनका दलबीच सहमति भएको छ ।

आज पनि गठबन्धनको बैठक बस्दै छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाका मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाई भइरहेको प्रधानमन्त्री देउवाले बताउँदै आउनु भएको छ।

मन्त्रिपरिषदमा सिट नपाउने नेताहरुले २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने आशंकामा यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै आउनु भएको छ । तर, माधव नेपालले भने दल विभाजन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले अहिले नै अध्यादेश खारेज नगर्न आग्रह गर्दै आउनु भएको छ । सत्ता गठबन्धनबीच शक्तिशाली र आकर्ष मन्त्रालय आफूले लिने होडबाजी रहेकाले पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

गएको असार ९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले त्यही दिन चार मन्त्री नियुक्त गर्नु भएको थियो । त्यतिबेला कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री हुनु भएको थियो । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री हुनु भएको थियो  । त्यसैगरी, साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे