घण्टदेब सामुदायिक वनको आज निर्वाचन हुँदै, भुसाल र पाण्डेकाे प्यानल बीच प्रतिस्पर्धा



घण्टदेब सामुदायिक वनको आज निर्वाचन हुँदै, भुसाल र पाण्डेकाे प्यानल बीच प्रतिस्पर्धा

भालुवाङ १४ फागुन । दाङ—देउखुरीको राप्ती गाउँपालिका—३, मसुरिया स्थित घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको आज साेमबार निर्वाचन शुरू भएकाे छ । समूहकाे नयाँ नेतृत्वका लागि हरिप्रसाद भुसाल र दुर्याेधन पाण्डे नेतृत्वकाे प्यानल बीच निर्वाचन हुन लागेकाे हाे ।

पूर्व निर्धारित निर्वाचन तालिका अनुसार आज बिहान ८ बजे देखि ४ बजे सम्म मतदानकाे समय तालिका अनुसार अहिले मतदान प्रकृया जारी रहेकाे छ । उक्त सामुदायिक वन समूहमा कुल १ हजार १ सय ८२ घरधुरी उपभोक्ता मतदाता रहेका छन् । जस मध्ये ८ सय ७६ मत खसेकाे निर्वाचन उप-समितीका संयाेजक चम्फा भुसालले जानकारी दिए ।

निर्वाचनमा राेचक बिषय के छ ? भने समूहकाे अध्यक्ष पद मै काँग्रेसबाटै दुई जना स्थानीय प्रभावशाली नेताहरुकाे प्रतिस्पर्धाले निर्वाचनलाई थप राेचक बनाएकाे छ । समूहकाे अध्यक्ष पदमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिप्रसाद भुसाल र काँग्रेसकै लुम्बिनी प्रदेश समिती सदस्य दुर्योधन पाण्डेले छुट्टाछुट्टै प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा हुनुहुन्छ । काँग्रेसबाटै एउटै पदमा छुट्टाछुट्टै प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराए संगै दाङ-देउखुरीकाे राप्तीमा काँग्रेस विभाजन भएकाे छ । समूहकाे अध्यक्ष पद मै काँग्रेसबाटै दुई जना स्थानीय प्रभावशाली नेताहरूकाे उम्मेदवारीले काँग्रेस भित्रको बिबाद थप उत्कर्षमा पुगेकाे छ । राष्ट्रिय राजनितिमा काँग्रेस, माओवादी र एकिकृत समाजवादी पार्टी लगायतका दलले गठबन्धन गरेर सरकार सञ्चालन गरिरहेको बेला स्थानीय संघसंस्थाको निर्वाचनमा भने गठबन्धन टुट्ने गरेको पाइन्छ ।

जसको ज्वलन्त उदाहरणका रुपमा घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनलाई सहजै लिन सकिन्छ । अझै रोचक बिषय त के छ भने वन समूहको निर्वाचनमै देश कै ठुलो दल काँग्रेस आफै विभाजन भएको छ । यसले काँग्रेस भित्रको दुई धार प्रष्ट देखाएको स्थानीय जानकारहरु बताउँछन् ।

जस अनुसार अध्यक्ष हरिप्रसाद भुसाल नेतृत्वको सयुक्त प्यानलको उपाध्यक्षमा जगबहादुर चौधरी, सचिवमा संगिता चौधरी, कोषाध्यक्षमा बाबुराम गैरे, सदस्यहरूमा सावित्रा थापा, निर्मल चौधरी, ठाकुर आचार्य, मिनबहादुर चौधरी, रामचन्द्र चौधरी, कमला घर्ती, गौसरी घर्ती, लिलमति बुढा, रूद्रमणि शर्मा, जुगुनुप्रसाद चौधरी रहनु भएको छ ।

यस्तै अध्यक्ष दुर्योधन पाण्डे नेतृत्वको साझा प्यानलको उपाध्यक्षमा टेकबहादुर गिरी, सचिवमा सुधाकुमारी शाही, कोषाध्यक्षमा भानबहादुर घर्ती, सदस्यहरुमा दमन्ती थापामगर, खुमीसरा रोका, बिन्दु परियार, राजकुमारी घर्तीमगर, गोमती पुनमगर, उब्जलाल पुन, सन्तोष भण्डारी, मिल्कु चौधरी र गुरुदेब चौधरी रहेका छन्।

अध्यक्ष भुसाल नेतृत्वको संयुक्त प्यानललाई नेपाली काँग्रेसको एक पक्ष सहित नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ भने अध्यक्ष पाण्डे नेतृत्वको साझा प्यानललाई नेपाली काँग्रेसको आर्को पक्ष सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह) को समर्थन रहेको छ । भुसाल नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् भने पाण्डे काँग्रेसका लुम्बिनी प्रदेश समिती सदस्य हुन् ।

गत फागुन ५ गते शनिबार भएको १७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनमा नयाँ नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचनमा हुन लागेको हो । वन समूहको नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेतादोय हरिप्रसाद भुसाल र दुर्योधन पाण्डेले आ—आफ्नो अडान नछोडेपछि निर्वाचनमा जाने गरी निर्वाचन उप—समिती गठन गरेर प्रक्रिय अगाडी बढाइएको थियो ।

सभाको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन हुन नसकेपछि वन समूहको विधान अनुसार राप्ती गाउँपालिका वार्ड नम्बर ३ की वडा सदस्य चम्फा भुसालको संयोजकत्वमा निर्वाचन उप—समिती गठन गरेको थियो । जसको सदस्यहरुमा सव—डिभिजन वन कार्यालय राप्तीका प्रमुख विनोदकुमार शाह, नर्ती समन्वय समितीका प्रतिनिधि ओमप्रकाश बिक, शान्ति सावउसका प्रतिनिधि जिवराज वली र उपभोक्ता लक्ष्मण आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे