LISTEN LIVE RADIO

राप्ती गाउँपालिकालाई प्रविधिमैत्री बनाइदै, २७ जना प्रधानाध्यापकलाई ल्यापटप प्रदान



राप्ती गाउँपालिकालाई प्रविधिमैत्री बनाइदै, २७ जना प्रधानाध्यापकलाई ल्यापटप प्रदान

भालुवाङ १ साउन । दाङको राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन थालेको छ ।

परम्परागत शैलीमा सञ्चालन भएका र हस्तलिखित माध्यमबाट शैक्षिक अभिलेख राख्दै आएका विद्यालय र प्रधानाध्यापकहरूलाई प्रविधि सँग जोड्न गाउँपालिकाले शिक्षकहरूलाई कम्प्युटर बेशिक तालिम दिनुका साथै अधिकांश विद्यालयहरूमा गाउँपालिकाले कम्प्युटर, प्रिन्टर समेत उपलब्ध गराईसकेको छ । यसै क्रममा राप्ती गाउँपालिकाको २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गरेको छ । गाउँपालिकाले गत आइतबार एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापकलाई एक÷एक थान ल्यापटप वितरण गरेको हो ।

गाउँपालिकाले सञ्चालन गरेको कम्प्युटर तालिम लिन पाउँदा शिक्षकहरू समेत खुसी भएका छन् । रजिष्टरमा अभिलेख तथा अन्य शैक्षिक क्रियाकलाप राख्दै आएकोमा ल्यापटप पाउँदा अझ सहज भएको प्रधानाध्यापक राजेन्द्र चौधरी र बासुदेव ज्ञवालीको भनाई रहेको छ । गाउँपालिका भित्र शिक्षक तथा शैक्षिक गतिविधिलाई प्रविधि मैत्री बनाउन, स्कूलको तथ्यांक, अभिलेखलाई डिजिटल रुपमा सुरक्षित राख्न र विद्यालयको नेतृत्वलाई प्रविधिमैत्री बनाउन थालिएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकको भनाई रहेको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम र संघको विशेष अनुदानबाट ल्यापटप वितरण गरेको हो । सो कार्यक्रमको लागि प्रदेशबाट ९ लाख ५० हजार र संघबाट ९ लाख ९९ हजार रुपैयाँ बजेटबाट ल्यापटप खरिद गरिएको थियो । गाउँपालिकामा २७ वटा सामुदायिक र १८ वटा संस्थागत गरी ४५ वटा विद्यालय सञ्चालनमा रहेका छन् । जस अनुसार सामुदायिक विद्यालयमा ९ हजार २३० र संस्थागतमा ६ हजार २८७ गरी १५ हजार ५१७ जना विद्यार्थी अध्ययनरत छन् । राप्ती गाउँपालिकाले जस्तै अन्य पालिकाले पनि विद्यालयलाई प्रविधिमैत्री बनाउन सक्ने हो भने विद्यालयको गुणस्तरमा समेत सुधार हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे