LISTEN LIVE RADIO

राप्तीको ४ नम्बर वडा कार्यालय उद्घाटन, प्रशासनिक कार्यलाई चुस्तदुरूस्त बनाउन सुझाव



राप्तीको ४ नम्बर वडा कार्यालय उद्घाटन, प्रशासनिक कार्यलाई चुस्तदुरूस्त बनाउन सुझाव

भालुवाङ ८ असार । दाङको राप्ती गाउँपालिका ४ नम्बर वडा कार्यालयको नयाँ प्रशासनिक भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

कार्यालय भवन निर्माणका लागि स्थानीय जग्गादाताहरू प्रकाशमणी घिमिरे, प्रभातमणी घिमिरे, अर्चनादेवी घिमिरे, बेगम रेश्मी मगर, भूपेन्द्र बहादुर बुढाथोकी, दुर्गाबहादुर जिएम र पुजीराम चाैधरीले निशल्क रूपमा जग्गा उपलब्ध गराएपछि ३ कठ्ठा ४ धुर जग्गामा १ सभा हल सहित ६ कोठाको २ तल्ले भवन निमार्ण गरि उद्घाटन गरिएको हो ।

पुथा हिमाल सपना जेभी घोराही दाङले ९९ लाख ८२ हजार २ सय ७९ रुपैयाँ ६ पैसा ठेक्का संझौतामा उक्त भवन निमार्ण कार्य सम्पन्न गरेको राप्ती गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेले जानकारी दिएका छन् । भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक समारोहबीच रिवन काटेर उद्घाटन गरेका छन् ।

भवन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले सुविधा सम्पन्न भवनबाट काम गर्दा कर्मचारी तथा सेवाग्राहीलाई सहज हुने बताए । अध्यक्ष विष्टले कार्यालयको भवन निर्माण गरेर मात्रै नहुने भन्दै त्यस कार्यालयकाे भवनबाट दिइने सेवा सुविधा चुस्तदुरूस्त बनाउनुपर्नेमा जाेड दिए । त्यस्तै उनले नागरिकले सहज र सरल तवरले सेवा पाउनका लागि कार्यालय स्थापना गरिएको र नागरिकलाई यस भवन निर्माण संगै विकासको प्रत्याभुति समेत हुने बताए ।

वडाध्यक्ष वीरबहादुर चाैधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओली, गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी, वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, वडाका जनप्रतिनिधि, स्थानीय राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायतका स्थानीय सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।

यस अघि सो कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । गाउँपालिकाकाे ९ ओटा वडाहरु मध्ये ८ ओटा वडाहरुकाे आफ्नै सुविधा सम्पन्न नयाँ भवन निमार्ण भइसकेका छन् । भने वडा नम्बर ३ काे कार्यालय पुरानै गाविस भवनबाट सञ्चालन भइरहेको छ। यद्यपी वडा नम्बर १, २, ५, ७, ८ को आफ्नै भवन भएपनि प्रदेश सरकारको विभिन्न मन्त्रालयलाई दिएपछि अहिले ती वडा कार्यालयहरू भाडाका घरमा सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे