LISTEN LIVE RADIO

लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित



लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित

भालुवाङ २५ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरी बन्ने सुनिश्चित भएको छ । सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेश १ बाहेकका बाँकी ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । दलहरूबीच भएको भागबन्डाअनुसार लुम्बिनीमा एमालेले सरकार बनाउने सहमति भएको छ ।

त्यसैगरी मुख्यमन्त्री एमालेको भागमा परेपछि लुम्बिनीको सभामुख माओवादी र उपसभामुख राप्रपाले पाउने भएका छन् । लुम्बिनी प्रदेशमा प्रत्यक्षका ५२ र समानुपातिकका ३५ गरी ८७ सदस्यमध्ये पहिलो दल बनेको एमालेबाट २९ सांसद छन् ।

सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रसँग ९ जना सांसद थिए ।  स्वतन्त्रबाट निर्वाचित सांसद दीपेन्द्र पुन माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीसँग सांसद संख्या १० पुगेको छ ।

त्यसैगरी सत्ता गठबन्धनको अर्को ठूलो दल राप्रपा र नागरिक उन्मुक्तिका ४/४ जना र जनमत पार्टीका ३ जना सांसद छन् । यसका साथै ३ जना सांसद रहेको जनता समाजवादी पार्टी सरकारमा सामेल हुने या नहुने अझै टुंगोमा पुगेको छैन ।

अन्य दुई जना स्वतन्त्र सांसद समेत नेकपा माओवादी केन्द्रबाट विद्रोह गरी एमालेको समर्थनमा निर्वाचित भएकाले उनीहरूको मत समेत पाउने अपेक्षा सत्ता गठबन्धनको छ । तर जनता समाजवादी पार्टी र दुई जना स्वतन्त्र सांसद समेत विपक्षमा बसे पनि एमाले नेतृत्वको गठबन्धनलाई सहज बहुमत पुग्ने देखिएको छ ।

लुम्बिनी प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेस २७ सांसदसहित प्रमुख प्रतिपक्षी दलका रूपमा रहने छ भने ऊसँगै लोकतान्त्रिक समाजवादीका ३ तथा नेकपा एकीकृत समाजवादी र जनमोर्चाका १/१ गरी ३२ जना सांसद प्रतिपक्षमा रहने छन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गत बिहीबार प्रदेश सरकारका लागि आह्वान गर्दै संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई मुख्यमन्त्रीमा दावी पेस गर्न पुस २७ गते सम्मका लागि समय सीमा तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे