LISTEN LIVE RADIO

राप्ती गाउँपालिकालाई शिक्षक संगठनको १० बुंदे ध्यानाकर्षण पत्र



राप्ती गाउँपालिकालाई शिक्षक संगठनको १० बुंदे ध्यानाकर्षण पत्र

सिसहनियाँ ४ असार । एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिका कार्यसमितिले १० बुंदे माग राखि राप्ती गाउँपालिकालाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको छ ।

समितिका अध्यक्ष कृष्णबहादुर बुढा लगायतको टोलीले गाउँपालिकामा पुगेर राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सो ध्यानाकर्षण पत्र बुझाएको छ । अध्यक्ष विष्टलाई बुझाएको ध्यानाकर्षण पत्रमा गाउँपालिका अनुदानमा नियुक्त भई कार्यरत शिक्षकहरुको पारिश्रमिक न्यून रहेकोले पारिश्रमिक वृद्धि गरि स्थायी शिक्षकहरुको न्यूनतम स्केल सरह पुयाउनुको साथै पोशाक भत्ता वृद्धि गर्न माग गरेको छ ।

त्यस्तै विद्यालय कर्मचारी अन्तरगत लेखापालहरुको विद्यालय सञ्चालन भएको तहको आधारमा बर्गिकरण गरी कक्षा १२, कक्षा १०, कक्षा ८ र कक्षा ५ सम्मका
लेखापाल पदमा नियुक्त कर्मचारीहरु तलबमानमा हेरफेर गरि वृद्धि गर्नुका साथै बालविकास शिक्षक र विद्यालय कार्यालय सहयोगीको तलबभत्तामा वृद्धि गर्न पनि माग गरेको छ ।

यस्तै गाउँ शिक्षा समिती तुरुन्त गठन गरि गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय अनुगमन गरी विद्यार्थी संख्या, संचालित कक्षा गाउँपालिका अनुदान शिक्षक कक्षाकोठा अपुग भएका विद्यालयहरुमा थप भवन, कक्षागत, विषयगत शिक्षक दरबन्दी ( मिलान) व्यवस्थापन मिलाउन , तहगत सञ्चालन भएका विद्यालयहरुमा अनिवार्य एक तहगत योग्यता पुगेका स्थायी शिक्षकहरुको व्यवस्था गरी संभव भए सम्म शिक्षा नियमावली अनुसारको प्रअ नियुक्ति गर्ने ब्यवस्था मिलाउन, विद्यालयका प्रअहरुको प्रअ भत्ता अत्यन्त न्यून रहेकाले समयानुकूल उपयुक्त प्रअ भत्ता व्यवस्थापन मिलाउनुहुनुका साथै शिक्षक र प्रअ निश्चित समयमा परिवर्तन गर्ने ब्यवस्था गर्न, शिक्षक तथा कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धिका लागि समय समयमा विभिन्न तालिम, कार्यशाला गोष्ठी अवलोकन भ्रमण, विषयगत छलफल आदिको व्यवस्थापन गर्न पनि माग गरेको छ ।

विद्यालय सँग सरोकार रहेका सम्पुर्ण कर्मचारीहरुको मासिक तलबभत्ता २/२ महिनाको समयमा निकासा गर्न, राप्ती गाउँपालिका वडा नं. १ मा नमुनाको रुपमा रहेको स्वर्गद्वारी आ.वि. गृहणी विद्यालयका शिक्षकहरुको मासिक तलबभत्ता न्यून रहेकोले प्रकिया पुयाइ गाउँपालिका अनुदान शिक्षक सरह तलबभत्ता उपलब्ध गराउन माग गरेको छ ।

निशुल्क शिक्षा कार्यान्वयन क्रम विद्यालयमा अध्यापन अनुमति पत्र नभएका अध्यापनरत शिक्षकलाई उचित रुपले ब्यवस्थापन गर्न, हाल कार्यान्वयनमा रहेको आधारभुत विद्यालय तहको स्थानीय पाठ्यक्रमको लागि विद्यार्थी सहयोगी पुस्तक लेखनको लागि सुचना प्रकाशन गर्न र शैक्षिक गुणस्तर वृद्धिका लागि वि.व्य.स.शि.अ.सं र अभिभावक शिक्षा कार्यक्रमको ब्यवस्थापन मिलाउन माग गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षकहरूको मागलाई सक्दो सम्बोधन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे