LISTEN LIVE RADIO

बाटो देखाउन हिँडेकी बालिकालाई अश्लील शब्द प्रयोग गर्दा ५ लाख रुपैयाँ क्षतिपूर्ति माग



बाटो देखाउन हिँडेकी बालिकालाई अश्लील शब्द प्रयोग गर्दा ५ लाख रुपैयाँ क्षतिपूर्ति माग

गुल्मी । कालिगण्डकी गाउँपालिका वडा नम्वर ४, पुर्तिघाटका २२ वर्षीय अनिल बोहरा (सार्की) भदौ २६ गते उनी सोही गाउँपालिका वडा नम्वर २ अर्वेनीबाट माथि भयकोट गाउँमा मादल बनाउने काम सिक्न जाँदै थिए । त्यही क्रममा बाटोमा उनले एउटी १०–१२ वर्ष उमेरकी बालिकालाई भेटे । आफूले बाटो नदेखेको भन्दै उनले ती बालिकालाई घरसम्म पुर्याइदिन आग्रह गरे ।

सोहीअनुसार बाटो देखाउन गएकी ती बालिकालाई यौन सम्पर्कको आशयका साथ उनले अश्लील शब्द बोले । घर फर्किएर ती बालिकाले अभिभावकहरुसँग उक्त कुरा सुनाईन् । अन्ततः अभिभावकहरु जुटेर अनिल पुगेकै घरमा गएर अनिललाई निर्घात कुटपिट गरे । अनि समाजका केही अगुवाहरु बसेर क्षतिपूर्ती माग गरे ।

ती बालिकाका अभिभावकले ५ लाख रुपैयाँ माग गर्दै नतिरे बलात्कार उद्योगको मुद्दा दिने अडान छाडेनन् । अनिलको परिवारको आर्थिक अवस्था कमजोर थियो । मागेजति रकम दिन सक्ने अवस्था रहेन । परिणामस्वरुप बालिकाकी आमाले पुर्तिघाट प्रहरी चौकीमा उजुरी दिईन् । प्रहरीले कालिगण्डकी गाउँपालिकाको न्यायिक समितिमा उजुरी पठायो ।

न्यायिक समितिका सदस्य टुकबहादुर सार्की भन्छन्, ‘जवरजस्ती करणी वा प्रयास भएको पाईएन । ती बालिकाले पनि बाटोमा अनिलले अश्लील शब्द बोलेको तर आफुलाई नछोएको बताईन् । त्यसो भए माफी मगाएर मिल्नुहोस् भनियो । तर ती बालिकाकी आमाले ५ लाख नदिएसम्म मुद्दा फिर्ता नलिने अडान लिनुभयो ।’

अनिलका बुवाले त्यति ठूलो रकम तिर्न सक्ने अवस्था नरहेको गुनासो गर्दै एक लाख रुपैयाँसम्ममा मिलाउन आग्रह गरे । बरु अहिले ५० हजार रुपैयाँ ऋण खोजेर तिर्छु बाँकी ५० हजार ६ महिनापछि दिउँला भनेर उनले बिन्ती गरे । तर बालिकाका अभिभावकले नमानेपछि मुद्दा जिल्लामा पठाइएको न्यायिक समिति सदस्य सार्कीको भनाइ छ ।

त्यस गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक तारा थापाले पैसाको बलमा मेलमिलाप गराउँदा नराम्रो नजिर बस्ने भएकाले आफुहरुले जिल्लामा जान सुझाव दिएको बताइन् । उनका अनुसार अनिल बोहराले अपशब्द बोले बापत ५ सय चोटी उठबस गरेर माफी माग्छु भनेर अनुनय विनय गरेका थिए । बालिकाका अभिभावकले कुटपिटसमेत गरेका कारण उनको मुहारभरी चोटहरु थिए ।

बालिकाका अभिभावकले ५ लाख रुपैयाँविना सहमतिमा जान नसकिने अडान लिएपछि उक्त मुद्दा जिल्ला प्रहरी कार्यालयमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी केदारराज पन्थले भने, ‘हो, उजुरी आएको छ । केटाले अश्लील शब्दमार्फत यौन सम्पर्क राख्ने उद्देश्य राखेको पाइन्छ तर ती बालिकालाई नछोएको कारण खासै ठूलो मुद्दा नबन्न सक्छ ।’

स्थानीयबासीका अनुसार गत माघ २० गते मुसिकोट नगरपालिका–७ वामीटक्सारमा एक पुरुषले दिउँसै एक महिलालाई हातपात गरेको आरोपमा त्यहाँका सामाजसेवीहरुले ४ लाख रुपैयाँ क्षतिपूर्ति तिराएका थिए । क्षतिपूर्ति तिर्ने पुरुष जापानका पैसावाला लाहुरे हुन् । उनले सहजै ४ लाख रुपैयाँ तिरे, कानुनी कारवाहीबाट जोगिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे