चीनमा अत्यावश्यकबाहेक यात्रा नगर्न जर्मनीद्वारा आफ्ना नागरिकलाई निर्देशन
जर्मनीले आफ्ना नागरिकलाई चीनमा अत्यावश्यक बाहेकको यात्रा नगर्न निर्देशन दिएको छ । जर्मनीको विदेश मन्त्रालयले कोरोनाको सङ्क्रमण बढेको भन्दै चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न भनेको हो ।
चीनले शून्य कोभिड नीति तथा अरु विभिन्न प्रतिबन्ध हटाएसँगै त्यहाँ सङ्क्रमण फैलिएको छ । अरु केही देशले पनि चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् । युरोपेली सङ्घले पनि यसै हप्ता मात्रै सदस्य देशलाई चीनबाट आउने उडानमा कोभिड परीक्षण गर्न सुझाव दिएको छ ।
जर्मनी, फ्रान्स, इटली, स्पेनलगायत देशले एसियाली देशबाट पुग्ने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् । अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन् । बेइजिङ र तियानजिनलगायत सहरमा सङ्क्रमण चरम बिन्दुमा पुगेको चिनियाँ अधिकारीले बताएका समाचार संस्था एएफपीले जनाएको छ ।
चीनमा नयाँ सब–भेरिएन्ट बीएफ–७ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बताउँदै आएको छ ।