कश्मीरका पृथकतावादी नेता गिलानीको निधन



कश्मीरका पृथकतावादी नेता गिलानीको निधन

काठमाण्डाै १७ भदाै । कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा श्रीनगरमा रहेको आफ्नै घरमा उनको निधन भएको हो ।

तीन दशकभन्दा लामो समयदेखि कश्मीरलाई भारतबाट अलग राख्नु पर्ने अडान राख्दै अभियान चलाएका गिलानी १५ वर्षसम्म पूर्व जम्मु कश्मीर राज्यको ८७ सदस्य रहेको विधान सभाका सदस्य रहनु भएको थियो । सन् १९८९ मा सशस्त्रद्वन्द्वपछि उनसहित चार जमात नेताले राजीनामा दिएका थिए ।

उनले प्रतिनिधित्व गर्ने जमात ए इस्लामीमाथि भारतले प्रतिबन्ध लगाएको छ । भारतले गिलानीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो । यही कारण गिलानीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो ।

भारत सरकारले सन् १९८१ मा उनको पासपोर्ट पनि जफत गरेको थियो । तर, सन् २००६ मा हज यात्राका लागि भन्दै गिलानीलाई पासपोर्ट दिइएको थियो । गिलानीले कश्मीरलाई भारतको भाग नमानेकै कारण उहाँमाथि भारतले दबाब बढाएको उनका समर्थकको भनाइ छ ।

उनको निधनमा पनि कश्मीरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने त्यहाँ इन्टरनेट सेवा बन्द गरिएको छ । त्यहाँ कर्फ्युसमेत लाग्न सक्ने स्थानीय प्रहरीले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गिलानीको निधनप्रति दु:ख व्यक्त गर्दै एक दिनका लागि  शोक र झण्डा आधा झुकाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे