अफगानिस्तानमा बिहिबार पनि तालिबानविरुद्ध प्रदर्शन, हातमा झण्डा लिँदै महिला पनि सहभागी



अफगानिस्तानमा बिहिबार पनि तालिबानविरुद्ध प्रदर्शन, हातमा झण्डा लिँदै महिला पनि सहभागी

काठमाण्डाै ३ जेठ । अफगानिस्तानमा तालिबानविरुद्धका प्रदर्शन दिनदिनै बढ्दै गएका छन् । अफगानिस्तानका विभिन्न सहरमा आज पनि देशको झण्डा लिएर प्रदर्शन गरिएको छ । आज राजधानी काबुल र पूर्वी सहर जलालावादमा पनि प्रदर्शन भएको छ ।

यस क्रममा गोली चलाइएको र केही व्यक्तिको ज्यान गएको समाचार सार्वजनिक भएका छन् तर पुष्टि हुन भने सकेको छैन । अफगानिस्तानले बेलायतबाट स्वतन्त्र भएको सम्झनामा स्वतन्त्रता दिवस मनाइरहेका दिन यो प्रदर्शन भएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सामाजिक सञ्जालमा पोस्ट गरिएको राजधानी काबुलको एक भिडियोमा ठूलो सङ्ख्यामा मानिस उपस्थित भएर ‘हाम्रो झण्डा, हाम्रो पहिचान’ भन्दै नारा लगाएको देख्न सकिन्छ ।

प्रदर्शनमा महिला पनि सहभागी छन् । भिडियोमा एक महिलाले आफ्नो काँधमा झण्डा राखेको देख्न सकिन्छ । तालिबानले यसबारेमा अहिले केही पनि भनेको छैन ।

कुनार प्रान्तको राजधानी असदाबादमा एक र्‍यालीका क्रममा केही व्यक्तिको ज्यान गएको समाचार पनि आइरहेका छन् । तर गोली चलेको हो या भागदौड मच्चिँदा ज्यान गएको हो भन्नेबारेमा थाहा भइसकेको छैन ।

हिजो बुधवार पनि असदाबादका साथै जलालाबाद र खोस्त सहरमा मानिसहरूले अफगानिस्तानको झण्डा लिएर प्रदर्शन गरेका थिए । जलालाबादमा तालिबानले गोली चलाउँदा तीन प्रदर्शनकारीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे