कोरोना उत्पतिबारेमा ९० दिनभित्र प्रतिवेदन पेस गर्न गुप्तचर निकायलाई बाइडेनकाे निर्देशन



कोरोना उत्पतिबारेमा ९० दिनभित्र प्रतिवेदन पेस गर्न गुप्तचर निकायलाई बाइडेनकाे निर्देशन

काठमाण्डाै १३ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पतिबारेमा ९० दिनभित्र रिपोर्ट बुझाउन गुप्तचर निकायलाई निर्देशन दिएका छन् । कोरोना भाइरस अरु जीवबाट मानिसमा सरेको वा प्रयोगशालाबाट बाहिरिएको विषयमा विवाद र आशङ्का बढिरहेका बेला अमेरिकी राष्ट्रपतिले अध्ययन गर्न निर्देशन दिएका हुन्।

अमेरिकी गुप्तचर निकायले केही दिनअघि कोरोना भाइरस चीनको एउटा प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने प्रतिवेदन तयार पारेको थियो । कोरोना भाइरस सन् २०१९ को अन्त्यतिर चीनको हुवेई प्रान्तको वुहानमा पहिलोपटक पुष्टि भएको हो । वुहानको समुद्री खाद्यान्न बजारबाट मानिसमा कोरोना भाइरस सरेको चिनियाँ अधिकारीले बताउँदै आएका छन् । तर कतिपयले कोरोना भाइरस वुहानमा रहेको प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको आशङ्का गर्दै आएका छन् ।

गएको महिना विश्वस्वास्थ्य सङ्गठनले चिनियाँसहित अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट कोरोना भाइरस मानिसमा सरेको हुन सक्ने सम्भावना कम रहेको बताएको थियो । अमेरिकाले डब्ल्यूएचओसँग भएको स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा अबको अनुसन्धान थप पारदर्शी हुनु पर्ने बताइसकेको छ । राष्ट्रपति बाइडेनले कोरोना भाइरसको उत्पतिका सम्बन्धमा हुने अनुसन्धान पारदर्शी हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे