LISTEN LIVE RADIO

राप्तीका किसानको धानबालीमा फट्के किराको प्रकोप, कृषि प्राविधिकहरु कृषकहरुको खेत–खेतमा



राप्तीका किसानको धानबालीमा फट्के किराको प्रकोप, कृषि प्राविधिकहरु कृषकहरुको खेत–खेतमा

भालुवाङ ३० भदौ । दाङको राप्ती गाउँपालिकामा धानबालीमा लाग्ने फट्के किराको प्रकोप देखिएको छ । केहि दिन देखि राप्ती गाउँपालिकाको वडा नम्बर २ पाखापानी, वडा नम्बर ५ को सिसहनियाँ बजार आसपास क्षेत्र, लठ्ठहवा, पहरुवा, वडा नम्बर ७ को बड्का तथा छोट्की सिसहनियाँ लगायतका ठाउँमा सो प्रकोप देखिएको राप्ती गाउँपालिका कृषि विकास शाखाकी प्रमुख सिमा भट्टले जानकारी दिएकी छिन् ।करिव ८ देखि १० विगाह क्षेत्रफलमा सो प्रकोप देखिएको छ भने करिव १० कठ्ठा क्षेत्रफलमा लगाएको धानबालीमा करिव ७० प्रतिशत क्षती भएको कृषि प्राविधिक सहायक बरसाती गडरियाले जानकारी दिएका छन् । धान पसाउने तथा पाक्ने बेलामा धानबाली सकेर पराल हुन थालेपछि किसानहरु निकै चिन्तित छन् । मानो फलाएर मुरी भित्रयाउने बेलामा धानबाली सुकेर पराल बन्न थालेको र जति औषधी छर्के पनि धानबालीमा सुधार नदेखिएको राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी किसान मदन पोख्रेलले बताए । पोख्रेलको मात्रै करिव ८ कठ्ठामा लगाएको धानबाली पराल बनेको छ । उनको जस्तै धेरै किसानहरुको धानबालीमा फड्के किराको प्रकोपले किसानहरुलाई चिन्तित बनाएको छ । धानबालीमा खैरो फड्के किराको समस्या देखिरहेको छ । धानबालीमा लाग्ने फड्के किरा धानको प्रमुख शत्रु हो । धानको फेदमा पानीको सतह माथि बसी पात र पातको आधारमा रस चुसेर खाइ नोक्सानी गर्दछ ।फड्के किराको प्रकोप भएका धानका बिरुवा पुरै सुक्ने र जल्ने भएका कारण धानबालीको नियमित अनुगमन तथा निरीक्षण गर्नुका साथै किरा रोकथाम तथा नियन्त्रणका बारेमा कृषकहरूलाई जानकारी गराउन गाउँपालिकाका कृषि विकास शाखाका प्राविधिकहरु दैनिक रुपमा किरा प्रभावित क्षेत्रमा खटिरहेको कृषि विकास शाखाकी प्रमुख भट्टले जानकारी दिएकी छिन् । किराको वयस्क तथा बच्चा दुबैले फेदबाट रस चुसेर खाने, शुरुमा तल्ला पातहरु र पछि माथिल्ला पातहरू पहेला भएर धानका बोटहरु मर्ने गर्दछन् । बाक्लो रोपाई गरेको ,युरीया मलको बढी प्रयोग भएको र पानीको निकासको व्यवस्था नभएको जग्गामा यो किराको प्रकोप बढी भएको कृषि विकास शाखाकी प्रमुख भट्टले बताएकी छिन् ।प्रकोप फैलिएको धानबालीमा किसानहरुले समय समयमा गोडमेल तथा सरसफाई गरि किराको आश्रय स्थल नष्ट गर्ने, सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग गर्ने, नाइट्रोजनयुक्त मल बढी प्रयोग नगर्ने, धान रोप्दा २०÷२० सिमीको दुरीमा रोप्ने, ४÷५ दिनको फरकमा खेतमा पानीको सतह बढाउने, घटाउने तथा सुकाउने र धानबालीमा किरा देखिएमा कृषि प्राविधिकको सल्लाहमा विषादी प्रयोग गर्न कृषि विकास शाखाकी प्रमुख भट्टले बताएकी छिन् । विषादी छर्कदा किरा देखिएको ठाउँमा चारै तिरबाट घेरा हालेर धानको विरुवाको फेदमा पर्ने गरी छर्कने, एउटै विषादीको नियमित प्रयोग गर्दा किरामा विष पचाउने क्षमता वृद्धि भएको पाईएकोले आलो पालो गरी ५–७ दिनको फरकमा विषादीको प्रयोग गर्ने, रसायनिक विषादी प्रयोग गर्दा सुरक्षित पहिरन जस्तै मास्का, पञ्जा, गमबुट, शरिर पुरा ढाक्ने कपडाको प्रयोग गर्ने र सिफारिस मात्रा भन्दा बढी विषादी प्रयोग नगर्ने तथा एक भन्दा बढी विषादी एकै पटक मिसाएर प्रयोग गर्न नहुने कृषि विकास शाखाकी प्रमुख भट्टले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे