LISTEN LIVE RADIO

आर्थिक क्षेत्रमा सन् २०२२ सकसपूर्ण, रुस–युक्रेन युद्धको चौतर्फी प्रभाव



आर्थिक दृष्टिकोणले सन् २०२२ निक्कै सकसपूर्ण वर्षका रुपमा बितेको छ । कोभिड–१९ को महामारी पूर्ण रुपमा नियन्त्रण हुन सकेन भने रुस–युक्रेन युद्धले विश्व अर्थतन्त्रमा प्रभाव पारेको छ । यो युद्धकै कारण आपूर्ति शृङ्खला खलबलियो भने खाद्य तथा ऊर्जा सङ्कट, पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि, विभिन्न देशले गरेका निर्यात कटौतीले विश्व अर्थतन्त्रलाई सङ्कुचनतर्फ धकेल्यो ।

रुस–युक्रेन युद्ध र कोभिड महामारीले विश्व अर्थतन्त्रमा अरू समस्या थपिँदै गएपछि विश्व अर्थतन्त्र बलियो स्थितिमा फर्किन सकेको छैन । सन् २०२२ जनवरीमा विश्व बैङ्कले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ ले यसवर्ष विश्व अर्थतन्त्रको वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको थियो । यो वर्षको अन्त्यसम्म आइपुग्दा आर्थिक वृद्धिदर त्यो भन्दा पनि कम देखिएको छ ।

अर्थतन्त्रमा सङ्कुचन देखिएपछि उपभोक्ताको क्रयशक्ति घट्ने, क्रयशक्ति घट्दा माग घट्ने र माग घट्दा मूल्य पनि घट्ने अर्थतन्त्रको खुला बजार सिद्धान्तभन्दा फरक परिदृश्य यस वर्ष देखिएका छन् । अर्थात् क्रयशक्ति र माग घट्दा पनि मूल्य भने बढिरह्यो । विश्व अर्थतन्त्रमा सन् २०२२ मा पछिल्लो चार दशकयताको उच्च मुद्रास्फीति देखियो । यसका पछाडि धेरैवटा कारण जोडिन्छन् । युरोप, चीन र भारतजस्ता ठूलो अर्थतन्त्र भएका देशलाई ऊर्जा सङ्कटले पिरोल्यो ।

रासायनिक मल अभाव र खाद्य आपूर्ति शृङ्खलामा गम्भीर असर उत्पन्न भयो । यस वर्ष विश्व मुद्रास्फीति दर आठ दशमलव आठ प्रतिशत कायम हुने आईएमएफको प्रक्षेपण छ । सन् २०२३ मा भने त्यो घटेर ६ दशमलव पाँच प्रतिशत कायम हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती मूल्यवृद्धि नै हो ।

विश्वभर आपूर्ति शृङ्खलामा देखिएका विभिन्न असरले खाद्यवस्तुको मूल्य निकै बढेको छ । सन् २०२२ मा दक्षिण एसियाली देश श्रीलङ्का आर्थिक रुपमा कमजोर हुँदा राष्ट्राध्यक्ष र सरकार प्रमुखले पद नै त्याग गर्नुपरेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गएको अक्टोबरमा सार्वजनिक गरेको ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ले २०२२ मा विश्व अर्थतन्त्र तीन दशमलव दुई प्रतिशतमा खुम्चने अनुमान गरेको छ । यो सूचक २०२३ मा झन् खस्केर २ दशमलव ७ प्रतिशतमा झर्ने अनुमान आईएमएफको छ ।

‘प्रजेक्ट सिन्डिकेट डटओआरजी’ले डिसेम्बर २ मा प्रकाशन गरेको ‘द अन अभइडेबल क्र्याइस’ शीर्षकको ‘रिपोर्ट’ले सन् २०२२ मा विश्व अर्थतन्त्रले पछिल्लो ५० वर्षयताकै खराब अवस्थाको सामना गर्नुपरेको उल्लेख गरेको छ । अहिले देखिएको जस्तो एकैपटक न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको स्थिति सन् १९७० को आर्थिक मन्दीयताकै पहिलो रहेको रिपोर्टमा उल्लेख छ । विश्वका तीन ठूला अर्थतन्त्र अमेरिका, चीन र युरोपेली सङ्घमा आबद्ध देश पनि यसबाट अछुतो रहेनन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे