LISTEN LIVE RADIO

बंगलादेशको रोहिंग्या शिविरमा दुई पक्षबीच झडप, कम्तिमा ८ जनाको मृत्यु



बंगलादेशको रोहिंग्या शिविरमा दुई पक्षबीच झडप, कम्तिमा ८ जनाको मृत्यु

२३ असोज, काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरका दुई पक्षको बीचमा झडप हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ । प्रहरी तथा मानव अधिकारकर्मीहरुका अनुसार शिविरमा रहेका हतियारधारी आपराधिक समूहको बीचमा भएको झडपका कारण हजारौं रोहिंग्याहरु विस्थापित भएका छन् । पछिल्लो केही दिनयता उक्त शिविरमा हिंसा भड्किएको छ ।

अधिकारीहरुका अनुसार बिहीबार गोली हान्ने, आगजनी र अपहरणजस्ता गतिविधिमा संलग्न १२ जनालाई पक्राउ गरिएको छ । शिविरमा आफ्नो दादागिरी कायम राख्नका लागि दुई समूहको बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । सन् २०१७ यता बंगलादेशको कोक्स बजारमा रहेको शरणार्थी शिविरमा करिब १० लाख रोहिंग्या बस्दै आएका छन् ।

पछिल्लो समय भने उक्त शिविरको अवस्था बिग्रिँदै गएको अधिकारीहरुको भनाइ छ । उनीहरुका अनुसार दुई समूहबीच अहिले शिविरमा आफ्नो दादागिरी कायम राख्ने विषयमा संघर्ष चलिरहेको छ । यी दुई समूहहरु मानव तस्करी र लागू औषधको कारेबारमा पनि संलग्न रहेको हुन सक्ने अधिकारीहरुको बुझाइ छ ।

सन् २०१८ यता विभिन्न घटनामा एक सयभन्दा धेरै रोहिंग्या मारिइसकेको मानव अधिकारवादी संस्थाहरुले बताएका छन् । बंगलादेशको सरकारले भने लागूऔषध तस्करी गरेको आशंकामा भएको दोहोरो झडपको क्रममा मारिएको बताएको छ ।

कोक्स बजारका तीन शरणार्थीले नाम नबताउने शर्तमा शिविरमा मुन्ना ग्याङ र अराकान रोहिंग्या सल्भेसन आर्मी (अर्सा)को बीचमा हिंसात्मक झडप भएको हो । अहिले शिविरमा अर्साको दबदबा छ । धेरै शरणार्थीहरुले अर्सामाथि अपहरण र शरणार्थीमाथि आक्रमणको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत यो समूहले आफूमाथि लागेको आरोपको खण्डन गरेको छ । पछिल्लो हिंसामा करिब दुई हजार रोहिंग्या विस्थापित भएका छन् । जसमध्ये केही शरणार्थी पुनः शिविरमा फर्किएका छन् ।

स्रोत : अलजाजिरा

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे