LISTEN LIVE RADIO

देउखुरीमा भोली नवनियुक्त मुख्यमन्त्री गिरीले पद तथा गोपनीयताको सपथ लिने, सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने



देउखुरीमा भोली नवनियुक्त मुख्यमन्त्री गिरीले पद तथा गोपनीयताको सपथ लिने, सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने

भालुवाङ २७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको सपथ ग्रहण समारोह राखेको छ ।

नेपालको संविधान धारा १७२ बमोजिम मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले मुख्यमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश कानुन बमोजिम पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ । बुधवार प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरे ।

बिहीबार नै ३ देखि ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी छ । एमाले, माओवादी र अन्य साना दलहरुको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी नव नियुक्त मुख्यमन्त्री लिला गिरीले गरेका छन् । एमाले र माओवादीबाट एक–एक जना गरी दुई जनाले मन्त्रीको सपथ लिनेगरी छलफल अघि बढेको छ । बाँकी दलबाट समेत मन्त्री बन्नेहरुको बारेमा सत्ता गठबन्धन भित्र छलफल चलिरहेको छ ।

 

एमालेबाट भूमिश्वर ढकाल र माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री बन्ने पक्कापक्कीजस्तै भएको बैठकमा सहभागी एक प्रदेश सभा सदस्यले बताए । तर, माओवादी भित्र सरकारमा सहभागी हुन सबैजसो प्रदेश सभा सदस्य आकांक्षी छन् । यसले गर्दा आन्तरिक रुपमा व्यवस्थापन गर्न जटिल बन्न थालेको छ । एमाले र अन्य दल भित्र पनि यस्तै आकांक्षीको लिस्ट लामै छ ।

भूमिश्वर ढकालले भौतिक पूर्वाधार र जोखबहादुर महराले अर्थ अथवा आन्तरिक मामिला मन्त्रालय मध्य एउटा मन्त्रालयको जिम्मेवारी पाउने छन् । महराले अर्थमन्त्रालय पाउनुपर्ने दावी छ । माओवादीमा दोस्रो कार्यकालमा समेत निर्वाचित र मन्त्री भइसकेका इन्द्रजीत थारु, नमुना केसी समेत मन्त्रीको आकांक्षी छन् ।

एमालेबाट चेतनारायण आचार्य पनि मन्त्री बन्ने लाइनमा छन् । अघिल्लो पटक आचार्य मन्त्री भइसकेका मध्य पर्छन् । यस पटक उनलाई मन्त्री बनाउने समेत तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे