LISTEN LIVE RADIO

आज बिहानै बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख सापकोटा नगएपछि रोकियाे



आज बिहानै बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख सापकोटा नगएपछि रोकियाे

काठमाडौं ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्नि सापकोटा नगएपछि रोकिएको छ । आइतबार पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक सरेको थियो ।

संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा नगएका हुन् । आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताएका सापकोटाले मंगलबार भने अध्यक्ष र सदस्यहरुवीच समन्वयको अभाव भएको भन्दै बैठकमा नआउने जानकारी प्रधानमन्त्रीलाई गराएको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘परिषदका अध्यक्ष (प्रधानमन्त्री) र सदस्यहरुवीच समन्वयनको अभाव देखियो, बैठकका लागि पर्याप्त गृहकार्य पनि भएन’ सभामुखको सचिवालय स्रोतले भन्यो, ‘बैठकका लागि पूर्वतयारी पनि पर्याप्त देखिएन । यिनै तीन कारणले सभामुखज्यू आजको बैठकमा अनुपस्थित हुनुभएको हो ।’

परिषदको बैठकका एजेण्डाहरु ४८ घण्टाअघि नै सदस्यहरुलाई उपलब्ध गराइनुपर्ने व्यवस्था भए पनि अध्यक्षले त्यसो नगरी बैठक डाकेको स्रोतले बतायो । अख्तियार, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका ४५ पदाधिकारीको नियक्तिका लागि प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाउँदै आए पनि  बस्न सकेको छैन ।

नियुक्तिहरुका लागि विपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्रीले परामर्श गरे पनि आफ्नै दलका नेताहरुसँग परामर्श नगरेको भन्दै नेकपाभित्रै असन्तुष्टि चुलिएको छ । त्यसैको प्रभाव सभामुखमाथि पनि परेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे