LISTEN LIVE RADIO

प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपालको विजयी सुरुवात



काठमाडौं ८ चैत । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

नेपाललाई जिताउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत सानदार गोल गर्दै खाता खोलेका थिए । यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा अर्को सानदार गोल गरेर नेपालको अग्रता २-० बनाए । नवुयुगले राष्ट्रिय टिमबाट आठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् भने दुइ वर्षयता पहिलो गोल गरेका हुन् । सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगको खेलमा उनले गोल गरेका थिए ।

खेलमा लाओसले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेन । दोस्रो हाफको ६६ औं मिनेटमा लाओसका अन्तजा सिफोङफानले गोलकिपर किरण लिम्बुलाई बिट गर्दा अर्का खेलाडी बौनपाचाङ बौङकोनले पोष्टमा हानेको बल अनन्त तामाङले बचाए । यस्तै ७० औं मिनेटमा अन्तजा सिफोङफानले प्रहार गरेको बल डिफेन्डर रोहित चन्दले हेडरमार्फत क्लियर गरिदिए । नेपालका लागि ७२ औं मिनेटमा मनिष डाँगीले मिलाएको बलमा नवयुगको पासलाई आयुस घलानले पोस्टको दिशा दिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे