LISTEN LIVE RADIO

नयाँ बसपार्कमा भएको तोडफोड र लुटपाटको गम्भीर अनुसन्धान गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाण्डाै ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डाैकाे गाेङ्गबु नयाँ बसपार्ककाे ल्हाेत्से मलमा भएको ताेडफाेड र लुटपाटको घटनाको गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका सुरक्षा अधिकारीलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले त्यति ठूलो घटना हुँदा पनि सुरक्षा निकायको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टिसमेत पोखेका छन्। प्रधानमन्त्री प्रचण्डले घटनाको जतिसक्यो चाँडो अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएकाे उनको सचिवालयले जनाएको छ । लुटपाटको घटनाले समाजमा त्रास सिर्जना गरेको भन्दै उहाँले गल्ती गर्ने जो कोही पनि कारबाहीमा पर्छन् भन्ने सन्देश दिन पनि आग्रह गरे।

जवाफमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले घटनाको अनुसन्धान भइरहेको र केही शङ्कास्पद व्यक्ति पक्राउ परेको समेत जानकारी गराएका छन् । घटना पूर्वानुमान गरेको भन्दा निकै फरक भएकाले सुरक्षा अङ्ग चुकेको पनि उनले बताएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको सोमवार यातायात मजदुरहरूले ट्राफिक नियमका विरुद्ध सडकमा गाडी तेर्साएर आन्दोलन गरेका थिए । तर सरकार र यातयात मजदुरबीच ट्राफिक नियमबारे सहमति भइसकेपछि पनि प्रदर्शन उग्र बनेको थियो । प्रदर्शनकारीहरूले प्रहरीका भ्यान र प्रहरी बिट जलाउनुको साथै नयाँ बसपार्कमा रहेको ल्होत्से मलका पसलमा लुटपाट गरेका थिए ।

यसैबीच सांसदरूले गएको सोमवार काठमाण्डाैकाे नयाँ बसपार्कमा भएको लुटपाटको घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले चुस्त सुरक्षाको व्यवस्था गर्न समेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद सूर्य थापाले नयाँ बसपार्क बालाजुमा भएको घटनाको यथार्थ विवरण संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उनले काठमाण्डाैकाे मुख्य भागमै भएको घटनाका बारेमा सरकार मौन बस्न नमिल्ने बताए । यस्तै सांसद विराजभक्त श्रेष्ठले काठमाण्डाैकाे गोङ्गबु बसपार्कमा भएको लुटपाटको घटनाका दोषीलाई कडा कारबाही गर्दै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे । सांसद शिशिर खनालले मजदुर आन्दोलनको नाममा गोङ्गबु बसपार्कमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद शङ्कर भण्डारीले गोङ्गबु बासपार्कमा व्यवसायीका सामान लुटपाटमा संलग्नलाई पक्राउ गरी दोषीलाई काम कारबाही गरेर पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे