LISTEN LIVE RADIO

दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल



दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल

दार्चुला १८ मंसिर । दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ ।

नेपाली नागरिकले तटबन्धको विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको भन्दै दिउँसो पुलमासमेत आवतजावत बन्द गरिएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएमबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् । दुवै देशका सरकारी कर्मचारीबीच भएको छलफलमा प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै भारतले तटबन्धन निर्माण गर्ने सहमति भएपछि सीमा नाका खुला गरिएको उनले बताए ।

भारतले नेपालतर्फ महाकाली नदीको धार फर्काउने गरेर तटबन्ध निर्माण गरिरहेको भन्दै दार्चुलाका स्थानीयवासीले विरोध गरेका थिए । उनीहरूले विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको थियो । यस घटना चार जना नेपाली घाइते भएकाे स्थानीयले बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता शाहीले बताए ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे