समतामुलक समाज निर्माण गर्न पुरानाे मान्यता त्यागाैं : मुख्यमन्त्री आचार्य



समतामुलक समाज निर्माण गर्न पुरानाे मान्यता त्यागाैं : मुख्यमन्त्री आचार्य

देउखुरी ११ असाेज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाज रुपान्तरण र सिमान्तकृत समुदायकाे सशक्तीकरणका लागि प्रदेश सरकारले प्रभावकारी भूमिका निभाउने बताउनु भएको छ । दलित महिला संघ फेडाेकाे आयाेजनामा दाङकाे लमहीमा भएको दलित महिला सशक्तीकरण र समावेशिकरणकाे सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सिमान्तकृत वर्गलाई राज्यकाे मुलधारमा ल्याउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भएको हाे ।

`वर्गिय रुपमा कार्यक्रमलाइ केन्द्रित गरिनुपर्छ´उहाँले भन्नुभयाे-`समाज रुपान्तरण, सामाजिक न्यायकाे लागि पुरानाे मानसिकता ताग्नुपर्छ । दृष्टिकोणमा परिवर्तन आयाे भने विभेद पनि उन्मुलन हुन्छ । सरकारले समाज रुपान्तरणका लागि जागरण अभियानमा हाम्राे साथ छ ।´ कार्यक्रममा समग्र विकासकाे अवराेध, जातिय तथा लैंगिक विभेद रहेकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराइएको छ । संघका केन्द्रीय अध्यक्ष कला स्वर्णकारकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव रेणु सिजापतीले विभेद, उत्पिडन उन्मुलनकाे लागि संविधानकाे पूर्ण कार्यान्वयन जाेड दिनुभयाे ।

संघका संस्थापक अध्यक्ष दुर्गा साेवले दलित समुदायले अहिले पनि अन्यायपूर्ण जीवन बिताउन बाध्य हुनुपरेकाे बताउदै मान्छे भएर बाच्न पाउने अनुभुती दिलाउन सरकारलाई आग्रह गर्नु भयाे । उहाँले छुवाछूतकाे मानसिकता अझै हट्न नसकेकाे टिप्पणी गर्नुभयाे ।

नेपालको संविधान २०७२ ले दलित महिलाहरूको हक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण प्रावधानहरू राखेको छ । स्थानीय तहमा कम्तिमा एक जना दलित महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेकाे छ । कार्यक्रमकाे सहजीकरण संघमा दाङ जिल्ला अध्यक्ष युवा कराराले गर्नु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे