LISTEN LIVE RADIO

जग्गा फुकुवाको माग गर्दै स्थानीयहरूद्वारा ३ दिन देखि रिले अनसन, पुर्व मन्त्री मेटमणी चौधरीद्वारा ऐक्यबद्धता



भालुवाङ २१ वैशाख । जग्गा फुकुवाको माग राख्दै स्थानीयहरू ३ दिन देखि रिले अनसन बसेका छन् लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा ३२ महिना देखि रोक्का भएको जग्गा यथाशीघ्र फुकुवाको माग राख्दै स्थानीयहरू रिले अनसनमा बसेका हुन् ।

राप्ती गाउँपालिका क्षेत्रका किसान, मजदुर, उद्योगी, व्यापारी तथा सर्वसाधारणहरू सम्मेलित नागरिक जनदबाब तथा सङ्घर्ष समिति गठन गरेर उनीहरूले आन्दोलन सुरू गरेका छन् ।

गत वैशाख १९ गते देखि प्रत्येक दिन उनीहरूले बिहान ८ बजे देखि बेलुका ७ बजे सम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जाने बाटोमा रहेको प्रतिक्षालय अनसन बसेका छन् । उनीहरूले प्रदेश सरकार रोक्का जग्गा फुकुवा गर, जग्गा रोक्का भएको मिति देखि हाल सम्मको चर्को व्याजदर मिनाहा गर, संविधानको धारा २५ मा सम्पत्तिको हक कार्यन्यवन गर, प्रदेश सरकार हामीलाई गरि खान दे लगायत माग राखेका छन् ।
यसै बीच पुर्व शहरी विकास मन्त्री तथा हालका प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले आन्दोलनरत पक्ष सँग बिहीबार भेटघाट गरेका छन् । भेटका क्रममा चौधरीले आन्दोलनरत पक्षको माग प्रति लेखित ऐक्यबद्धता जनाएका छन् । उनले यो विषयमा तत्काल केन्द्र सरकार सँग पहल गर्ने र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई जग्गा फुकुवाको विषयमा कुरा राख्ने बताएका छन् ।

यस अघि लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संसद बैठक लगत्तै बस्ने मन्त्रीपरिषद्को बैठकमा कुरा राख्ने र त्यो विषयमा बुझेर अगाडि बढ्ने र रोक्का जग्गा फुकुवाको विषयमा कदम चाल्ने आश्वासन दिएका थिए । यता संघर्ष समितिका संयोजक शंकर गौतमले अनसनबाट पनि रोक्का जग्गा फुकुवा नभए आन्दोलनको स्वरूप परिवर्तन गरि शान्तिपूर्ण तरिकाले सडक बन्द गर्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि लुम्बिनी प्रदेशको स्थायी मुकाम भएको ठाउँको जग्गा रोक्का हुँदा दैनिक जीवनयापन सहित उद्योग, व्यापार सञ्चालनमा जटिल समस्या देखापरेको छ भने अंशबन्डा, किनबेच तथा बैंक एवम् वित्तिय संस्थाहरूबाट समेत कुनै प्रकारको ऋण लिन समस्या भएको छ ।
लुम्बिनी प्रदेशको क्षेत्र रहेको राप्ती गाउँपालिकाको पुरै ९ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा त्यसै गरि सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे