LISTEN LIVE RADIO

राष्ट्रका लागि संगित अभियात्रालाई राप्तीमा नागरिक अभिनन्दन, सवै कम्युनिष्ट एक हुन आग्रह



भालुवाङ १२ चैत । राष्ट्रका लागि संगित अभियात्रा भन्ने मूल नाराका साथ शनिबार दाङको राप्ती गाउँपालिकामा सांगीतिक प्रस्तुति सँगै गाउँपालिकाले जनगायकहरूलाई एक भव्य समारोहका बीच नागरिक अभिनन्दन गरिएको छ ।

गाउँपालिकाको सभाहल मसुरीयामा उल्लेखीय दर्शकहरुको उपस्थितिमा शनिबार सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाले सम्मानपत्र र मायाको चिनो सहित नागरिक अभिनन्दन गरेको हो । संगित अभियात्राको सांगीतिक प्रस्तुतिमा अभियात्रीहरुले वामपन्थी नेताहरु सुध्रीएर एकै ठाउँमा आउनुपर्ने बताएका छन् । कलाकारहरूले ‘२००७ साल देखि अहिलेसम्म भएका परिवर्तनहरु संस्थागत हुनुपर्छ भन्ने जनवादी कलाकारहरुको मान्यता हो तर २००७ सालदेखि अहिलेसम्म बनेका सरकारहरुबाट जनवादी कलाकार सन्तुष्ट छैनन् ।

सत्ता चलाइरहेका र सत्ता बाहिरका राजनीतिक पार्टीहरुले जसरी काम गरिरहेका छन् आधारभुत वर्ग सन्तुष्ट छैन, उनीहरुमा परिवर्तन आएको छैन । देशमा अझैपनि आर्थिक र सामाजिक रुपले परिवर्तन आएको छैन र जबसम्म आर्थिक र सामाजिक परिवर्तन हुँदैन देशमा चुनाव हुने, सरकार बन्ने, फेरिने कुराले कुनै तात्विक महत्व राख्दैन । कम्युनिस्टहरु बिचको टुट, फुट र विघटनले गर्दा जनतामा असन्तुष्टी पैदा भएको छ । आर्थिक रुपले देश टाट पल्टिदै छ, राष्ट्रियता कमजोर हुँदै छ, गणतन्त्र संस्थागत भइसकेकोले एक कम्युनिस्टहरू मिल्नुको विकल्प नरहेको उनीहरूले बताएका छन् । ‘टुटफुट र खण्डितको कुरा नगर, आत्मसमर्पणको कुरा नगर, एक ढिक्का एकताको कुरा गर, वीरताको कुरा गर’ कार्यक्रम मा सबै जना जनवादी कलाकारले एकै पटक यो गीत गाउँदै नेपालका वामपन्थीहरुलाई एकताबद्ध हुन अपिल गरे । नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा बदलाव नआएको भन्दै कलाकारहरुले वामपन्थीहरुलाई एक ठाउँमा उभिएर रुपान्तरणका लागि अग्रसर हुन सुझाव दिएका छन् ।

देश अब खण्डित भएर होइन, एकताका माध्यमबाट मात्रै रुपान्तरण हुन सक्छ र त्यसका लागि वामपन्थीहरु एक ठाउँमा उभिनु बाहेक अर्को विकल्प नरहेको कलाकारहरुले गीत मार्फत सन्देश दिएका छन् । जनवादी कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणि थापा, वरिष्ठ जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाख्रिन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा छन् । वरिष्ठ गायक जीवन शर्माको सिमली छायाँले बोलको गीतमा गायक नारायण शर्माले अभियन समेत गरेका थिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा नागरिक अभिनन्दन र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा विश्वासको अध्यक्षतामा सांगीतिक कार्यक्रम भएको थियो । प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरु, जनप्रतिनिधिहरू, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे