LISTEN LIVE RADIO

देउखुरी क्षेत्रमा गोरखा स्कुल अब्बल बन्दै



देउखुरी १२ चैत । लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलमा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययरत ९५ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । यसका अतिरिक्त विद्यालयबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुले आइओएम, आईओइ, एएफयु र त्रिभुवन विश्वविद्यालयबाट लिइएका प्रवेश परीक्षामा सफतापूर्वक नाम निकाल्न सफल भएको विद्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

गोरखा मोडेल सेकेन्डरी विद्यालयबाट उत्तीर्णमध्ये संगीता खनालले चिकित्साशास्त्रतर्फ विएएमएस, इञ्जिनियरिङ सिभिलतर्फ नवीन कार्की, कम्प्युटरतर्फ सृष्टि शर्मा, विएससी फरेस्टतर्फ गीता सुवेदी, विएससीएजी तर्फ प्रवीण देवकोटा, विफार्मेसीतर्फ नवराज खनालले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको विद्यालयका प्राचार्य लोकमान रिजालले जानकारी दिनुभयो । यस वर्ष एमविविस परीक्षामा आठजना विद्यार्थीले नाम निकाल्न सफल भएका छन् ।

दिव्यान्सु भट्टराईले ३७ हजार परीक्षार्थीमध्ये तीन सय ८४ नम्बरमा र नवराज खनालले चार सय ९० नम्बरमा नाम निकाल्न सफल भएको, यस नतिजाले जिल्लाकै प्रतिष्ठा बढेको विद्यालयले जनाएको छ । यस्तै विडिएसको प्रवेश परीक्षामा तीनजना, विएससी नर्सिङमा चारजना, विपिएचमा तीन जनाले नाम निकाल्न सफल भएका छन् । इञ्जिनियरिङ तर्फ चार जना, विएससी सिएसआइटीमा तीनजना विद्यार्थीले नाम निकालेका छन् ।

इञ्जिनियरिङमा सृष्टि शर्माले त्रिभुवन विश्वविद्यालयमा कम्प्युटर इञ्जिनियरिङमा पूर्ण छात्रवृत्ति र पोखरा विश्वविद्यालयबाट लिएको प्रवेश परीक्षामा छात्रामध्येबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भएको विद्यालयले जनाएको छ । हालसम्म विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीमध्ये इञ्जिनियरिङमा १३, विएससिएजीमा ६, विएससी सिएसआईटीमा चारजना, विएससी फरेस्ट्रीमा दुई, विपिएचमा एकजना लगायत धेरै विद्यार्थीले विएससीतर्फ अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।

व्यवस्थापन संकायतर्फ तीनजना विद्यार्थीले सिए, ३२ जना विविए, ५ जना विएचएम, दुईजना विविएम, १० जना विआइटी तथा दुई सयमध्ये बढी विद्यार्थीले विविएस अध्ययन गरिरहेका छन् । यस विद्यालयमा अध्ययन गर्न छिमेकी जिल्ला रोल्पा, रुकुम, प्युठान, अर्घाखाचीबाट विद्यार्थीहरु आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे