LISTEN LIVE RADIO

चैत ७ गतेका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित



चैत ७ गतेका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

दाङ ६ चैत । चैत ७ गते अर्थात भोलीका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयले साेमवार साँझ सूचना प्रकाशित गर्दै बैठक विशेष कारणबस स्थगित गरिएको जानकारी दिएको छ।

सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार बैठक स्थगित गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। केन्द्रमा सत्ता समीकरण परिवर्तनपछि लुम्बिनीमा माओवादीसहितका ८ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन्।माओवादीनिकट स्रोतका अनुसार मुख्यमन्त्री लिला गिरी र सभामुख घर्तीबीच सरकारकै विषयमा कुराकानी भएपछि बैठक स्थगित गरिएको हो।

लुम्बिनी प्रदेशमा नयाँ समीकरणअनुसारको मुख्यमन्त्री कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीको प्रतिस्पर्धा चलिरहेको छ। कांग्रेसले निर्वाचनअघिकै एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठन गर्ने बेला भएको सहमति कार्यान्वयन नगरी पुरै समय माओवादी नेतृत्वमा सरकार चलेकाले अबको पहिलो नेतृत्व कांग्रेसले पाउनुपर्ने दाबी गर्दै आएको छ।

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नयाँ सरकारको नेतृत्व लिने तयारीमा छन्। माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महराले दाबी गरिरहेका छन्। महरा पुष्पकमल दाहालको सचिवालयमा बसेर लामो समय काम गरेका नेता हुन्। हाल महरा आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे