LISTEN LIVE RADIO

भालुवाङ महोत्सव सकियो, लुम्बिनीलाई पर्यटकीय राजधानी बनाउने मन्त्री यादवको उद्घोष



भालुवाङ २ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा सञ्चालित पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवलाई बुधवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।

“कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा गत फागुन १९ गते देखि चैत १ गते सम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा सञ्चालन भएको महोत्सव बुधवार सकिएको हो । संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र कृषि विज्ञ अनुप तिवारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मन्त्री यादवले लुम्बिनी प्रदेशलाई पर्यटकीय साँस्कृतिक राजधानी बनाउने बताएका छन् ।

देउखुरी संस्कृति र पर्यटनको राम्रो संभावना बोकेको क्षेत्र भएकाले पनि यसलाई देशकै नमुना राजधानी बनाउन प्रदेश सरकार जुटेको बताएका छन् । मन्त्री यादवले भालुवाङ– प्युठान जोड्ने सडकमा बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारी स्वागत गेट र भालुवाङ राप्ती पुल पारी लुम्बिनी स्वागत गेट निर्माण गर्ने बताएका छन् । मन्त्री यादवले लुम्बिनी प्रदेश प्राकृतिक सम्पदा, धार्मिकस्थलहरुले भरिपूर्ण रहेको भन्दै आवश्यक प्रचार–प्रसारका माध्यमबाट लुम्बिनीलाई पर्यापर्यटनको विकासको माध्यमबाट आर्थिक रुपान्तरणमा जोड दिनुपर्ने बताएका छन् ।

सो अवसरमा राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, कृषि विज्ञ अनुप तिवारी लगायतका वक्ताहरुले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा महोत्सवलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न, व्यक्ति, संघ संस्था तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो । भने उद्घाटनका दिन उत्कृष्ट झाकी प्रदर्शन गरेर प्रथम स्थान हासिल गर्ने नेपाल मगर संघ भालुवाङलाई नगद १० हजार, दोस्रो हुने नेपाल मगर संघ बराखुट्टीलाई नगद ७ हजार र तेस्रो हुने राप्ती नेवारी समाज भालुवाङ र जागृती महिला समुह बड्का सिसहनियाँलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए । समापनका दिन हजारौं दर्शकका माझ राती अवेर सम्म विभिन्न गीत मार्फत गायक पुस्कल शर्माले मञ्च तताएका थिए । उनले गायका गीत मध्ये मुटु जलाई जलाई, आउँछेउ आउदैनौ लगायत एक दर्जन बढी गीत गाएर दर्शकहरुलाई छमछमी नचाएका थिए । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको थियो । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले लक्ष्य राखेको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराइएको थियो । भने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि चरखे पिङ्ग, झुला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेका थिए । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे