LISTEN LIVE RADIO

राजधानी व्यवस्थापनको कार्यप्रति मुख्यमन्त्रीकाे चासो



दाङ १८ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनको कार्यलाई तीब्र बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रदेश पूर्वाधार विकास समितिको १४ औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी संरचना निर्माणको कामलाई तीब्र बनाउन निर्देशन दिएका हुन् ।

राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा मुलुककै नमुना राजधानी शहर निर्माण गर्ने सरकारको लक्ष्यलाई मूर्तता दिनतर्फ सबै लाग्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले गुरुयोजना अनुसारका पूर्वाधार निर्माणको कामलाई समयमै सम्पन्न गर्नतर्फ प्राधिकरण लाग्नुपर्ने बताए । ‘भर्जिन ल्याण्डका रुपमा रहेको राप्ती उपत्यका देउखुरीमा नदी सभ्यतामा आधारित सुन्दर राजधानी शहर निर्माण गर्ने लक्ष्य अनुरुप गुरुयोजना निर्माण गरेको प्राधिकरणले सोही अनुसार काम अगाडि बढाउनुपर्दछ’, मुख्यमन्त्री गिरीले भने, ‘प्रदेशबासीलाई सुन्दर राजधानी शहर हस्तान्तरण गर्ने सरकारको उद्देश्यलाई सबै मिलेर सफल पार्नुपर्दछ ।’ प्राधिकरणलाई सबै खालका सहयोग गर्न सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री गिरीले भने ‘राजधानीको गुरुयोजना तयार पारेको प्राधिकरणले पूर्वाधार निर्माणलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्दछ ।

प्राधिकरणलाई सबैखालका सहयोग गर्न सरकार तयार छ ।’ बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले राजधानी व्यवस्थापनको कार्य तीब्ररुपमा अगाडि बढेको जानकारी दिएका थिए । प्रादेशीक राजधानीको विकासका लागि गुरुयोजना बनाएर निर्माण तीब्र पारिएको भन्दै पोखरेलले समयमै राजधानीका संरचना निर्माण गर्नेगरी काम अगाडि बढेको बताए । ‘सम्मानित प्रदेश सभाबाट निर्णय भएअनुसार प्रादेशीक राजधानीको विकासका लागि प्राधिकरणले गुरुयोजना बनाएर काम गरिहेको छ’, प्रमुख कार्यकारी अधिकृत पाण्डेले भन्नुभयो, ‘गुरुयोजना कार्यान्वयनका लागि सरकारको सहयोग अपरिहार्य छ । जग्गा एकीकरणको कार्यलाई छिटोछरितो अगाडि बढाउनुपर्दछ । यो गर्न सकियो भने प्राधिकरणलाई काम गर्न सहज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे