LISTEN LIVE RADIO

सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुन्छौं : मन्त्री शर्मा



दाङ २८ माघ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सहमतिकै आधारमा नयाँ राष्ट्रपति चुनिने बताएकी छिन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले दाङको भालुवाङमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री शर्माले बर्तमान सरकार बढीभन्दा बढी सहमतिकै आधारमा काम गर्न खोजेकाले राष्ट्रपति सहमतिकै आधारमा टुङ्गो लाग्ने बताएका हुन्।  प्रधानमन्त्रीलाई विश्वासको मत मिलेको हिसावले पनि राष्ट्रिय सहमति खोज्नुपरेको उनको भनाइ छ । उनले भनिन्, “जून हिसावले प्रधानमन्त्रीलाई विश्वासको मत मिल्यो, त्यसमा सबैको सहमति गरेर जानुपर्छ भन्ने लागेको छ, त्यसैले प्रधानमन्त्रीले राष्ट्रिय सहमति गरौं भन्नुभएको हो ।”

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने पहल भइरहेको बताइन् । सरकार राष्ट्रिय सहमतिकै अवस्थामा रहेकाले कसैलाई पनि सरकारबाट बाहिर राख्न नचाहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्नु सकरात्मक अवस्था नरहेको उनको भनाइ छ ।

उनले भनिन्, “रविजीको बारेमा अदालतले निर्णय गरेकाले परिस्थिति केही भिन्न भयो, मिलाएर जानुपर्ने अवस्था छ, गृह मन्त्रालय नै चाहियो भनेर अडान लिनु भएन ।” मन्त्री शर्माले मिडियासँग सम्बन्धित विभिन्न ऐनहरु बन्ने क्रममा रहेकाले सम्बन्धित सरोकारवालाले उचित सल्लाह सुझाव दिन पनि आग्रह गरिन् । सूचना प्रविधि ऐन, प्रेस काउन्सिल ऐन, लगायतका ऐनहरु छलफलकै क्रममा रहेकाले सम्बन्धित पक्षको उचित सल्लाहको आवश्यकता रहेको बताइन् ।

अहिलेसम्म पुरानो ऐनबाट चल्नुपर्ने अवस्था रहेको जानकारी दिंदै उनले समयसुहाउँदो ऐनहरु ल्याउन आवश्यक रहेको बताइन् । उनले भनिन्, “हामी अहिले पुरानो ऐनबाटै चल्नुपरेको छ, नयाँ ऐन बनाउँदा यहाँहरु पत्रकारको सहयोग आवश्यक छ, सुझावको अपेक्षा गरेका छौं ।”

पछिल्लो समय अनलाइन मिडिया बढ्दै गइरहेको भए पनि अनलाइन मिडीयालाई व्यवस्थित बन्ने कानुन निर्माणको आवश्यकता रहेको उनको भनाइ छ । सबै मिडियालाई व्यवस्थित गर्नुपर्छ भन्ने सरकारको मान्यता भएको भन्दै मोफसलका मिडियालाई पनि उचित सेवा सुविधा उपलव्ध गराउने गरी कानुन निर्माण गर्न थालेको मन्त्री शर्माले बताइन् ।  नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले ढुक्कका साथ पत्रकारिता गर्न र सरकारलाई खबरदारी गर्न मिडियालाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे