LISTEN LIVE RADIO

लुम्बिनीमा मन्त्रीपरिषद विस्तारमा ढिलाई, भागवण्डा मिलाउन सकस, पूर्णता पाउन एक हप्ता लाग्ने



लुम्बिनीमा मन्त्रीपरिषद विस्तारमा ढिलाई, भागवण्डा मिलाउन सकस, पूर्णता पाउन एक हप्ता लाग्ने

भालुवाङ १२ माघ । प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मातृ शोकमा परेपछि लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार हुन ढिलाई भएको छ ।

यस वाहेक सत्ता साझेदार दल र दलभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालय भागवण्डा मिलाउन पनि कठीन हुंदा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

सरकारका प्रवक्ता चेतनारायण आचार्यले माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मातृ शोकमा परेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको दावी गरे । साथै उनले ढिल्लामा एक हप्ता भित्र सरकारले पूर्णता पाउने बताएका छन् ।

महरा १७ गते काजकिरिया कर्मबाट उम्किएर रोल्पाबाट दाङ आएपछि मात्रै मन्त्रिमण्डल विस्तारबारे छलफल अघि बढ्ने प्रवक्ता आचार्यले बताए । प्रवक्ता आचार्यले बाहिर मन्त्रालय भागबण्डामा सत्ता साझेदार दलहरुबीच विवाद नरहेको दावी गरे ।

उनले लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १० वटा मन्त्रालय कायम गर्ने सहमति भएको बताए ।
पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा नेकपा एमालेका नेता लिला गिरी मुख्य मन्त्री नियुक्त भएका थिए ।

सोही दिन एमालेबाट अर्घाखांचीका चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बांकेकी कृष्णा केसी विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री गिरीले विश्वासको मत लिएपछि मन्त्रिमण्डलले पूर्णता पाउने बताएका थिए । तर मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत पाएपछि पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

गिरीलाई माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी तथा २ स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका छन् ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले ३–४ जना सांसद भएका साना दलहरुले पनि सबै सांसदलाई मन्त्री चाहिन्छ भन्दै बखेडा झिकेकाले पनि मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे