LISTEN LIVE RADIO

लुम्बिनीमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेका ३ नेताको आकांक्षा



लुम्बिनीमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेका ३ नेताको आकांक्षा

दाङ ९ माघ । लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेबाट ३ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

एमालेका एक नेताका अनुसार २५ माघमा हुने उपनिर्वाचनमा रोल्पाका कुमार दसौदी, पाल्पाका झपेन्द्र जिसी र दाङका छविलाल वली आकांक्षी छन् । दसौदी एमाले केन्द्रीय सदस्य हुने भने जिसी केन्द्रीय अनुशासन आयोगका सदस्य र वली केन्द्रीय सल्लाहकार समितिका सदस्य हुन् ।

यता नेपाली कांग्रेसले तीनजना नेताको नाम सिफारिस गरेको छ । कांग्रेसबाट दाङका वीर केशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौरको नाम सिफारिस भएको छ । गौतम र आचार्य पुर्वजिल्ला सभापति हुन् । आचार्य २०६४ सालमा हालका प्रधानमन्त्री प्रचण्डसँग संविधानसभा चुनावमा प्रतिस्पर्धी हुन् । बर्दियाका राठौर पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । उनीहरुमध्येबाट १ जना उम्मेदवार बन्नेछन् ।

माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ । नेपाली कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका १२ वटै जिल्लाबाट नाम संकलन गरेर तीमध्ये ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको जानकारी दिए । ‘तीन जना मध्ये पार्टीमा गरेको योगदान, क्रियाशीलता र वरिष्ठताको आधारमा केन्द्रले एकजनालाई उम्मेदवार बनाउँछ,’सभापति पुनले भने । नेकपा एमालेले भने उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी केन्द्रसँग समन्वय गरेर सहमतिमै उम्मेदवारको टुंगो लगाउने बताए । ‘ प्रदेश तहमा सामान्य छलफल भएको छ तर केन्द्रीय नेतृत्वबाट आउने राय सुझाव र निर्देशनका आधारमा उम्मेदवार टुंगो लाग्छ’-कंडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे