LISTEN LIVE RADIO

मानव अधिकार एलाइन्स लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त गौतम सर्वसम्मत निर्वाचित



भालुवाङ ८ माघ । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

आइतवार दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा आयोजित मञ्चको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षद्धय नारायणप्रसाद रेग्मी, सुशिला गैरे, सचिवमा दामोदर घिमिरे, सहसचिवमा छन्दबहादुर बस्नेत र कोषाध्यक्षमा मिनाश्री न्यौपाने रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा लेखनाथ भट्टराई, राधिका खड्का, दलबहादुर सुनार र मिनु वली शाह रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई आइतवार नै सपथ ग्रहण गराइएको थियो । मञ्चका प्रदेश इन्चार्ज शोभाराम डाँगीको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटव्युरो केन्द्रीय सदस्य तथा पुर्व सञ्चार सुचना प्रविधि मन्त्री पार्वत गुरूङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्य, राष्ट्रिय मानव अधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मिनबहादुर शाही, गैरसरकारी महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदी, प्रतिनिधि सभा सदस्य ईश्वरी जिएम लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वसन्त गौतमले गरेका थिए ।

लुम्बिनी प्रदेशलाई मानव अधिकारमैत्री प्रदेश बनाउने छौं : मन्त्री आचार्य
लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले मानवअधिकारको रक्षाका लागि लुम्बिनी प्रदेश सरकार सदैव कटिबद्ध रहने प्रतिबद्धता जाहेर गरेका छन् । मानवअधिकार एलायन्सको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री आचार्यले भन्नुभयो, ‘मानवअधिकारको रक्षाका लागि लुम्बिनी प्रदेश सरकार सदैव लागि पर्नेछ । मानवअधिकार बिरोधी गतिविधि प्रदेश सरकाबाट हुने छैनन् भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’

राज्य पक्षबाट मानवअधिकार हननका घटना घट्ने गरेको पाइने भन्दै मन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार यसतर्फ सजग रहने बताए । मानवअधिकार एलायन्सले उठाएका मुद्दामा प्रदेश सरकारको सहकार्य रहने बताउँदै मन्त्री आचार्यले सबै संघसंस्थाको सहकार्य र हालेमालोबाट नै लुम्बिनी प्रदेशलाई मानवअधिकारमैत्री प्रदेश बनाउनतर्फ लागिपर्ने बताए । ‘राज्य पक्षबाट नै बेलाबेलामा मानवअधिकार हननका घटना भइरहेका हुन्छन् । हामी यसतर्फ सचेत रहनेछौं’, ‘प्रदेशमा क्रियाशील संघसंस्थासँगको सहकार्यमा लुम्बिनी प्रदेशलाई मानव अधिकारमैत्री प्रदेश बनाउने छौं ।’

शुन्यबाट प्रदेशको राजधानीको निर्णय कार्यान्वयन सुरु गरेको भन्दै मन्त्री आचार्यले निकट भविष्यमै लम्बिनी प्रदेशलाई सफल प्रदेश बनाउने बताए । प्रदेश सरकारको विषयलाई लिएर भ्रम पैदा गर्ने क्रम सुरु भएको भन्दै मन्त्री आचार्यले प्रदेश सरकारको सहयोगी बन्न सबैलाई आग्रह गरे । ‘हामीले प्रदेश राजधानीको निर्णयलाई शुन्यबाट सुरु गरेका छौं ।

पूर्वाधारको अभावका बीचबाट हामीले सरकारका गतिविधि अगाडि बढाएका छौं’, मन्त्री आचार्यले भन्नुभयो, ‘यहाँका सरोकारवालाहरुको सहयोग प्रदेश सरकारका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ । प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने बेला कुनै पक्षबाट भ्रम पैदा गर्ने कार्य पनि भएको छ । यसलाई रोक्नतर्फ लाग्न सबैलाई आग्रह गर्दछौं ।’ लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने कार्यमा सरकार लागिपरेको भन्दै उनले प्रदेशबासीलाई सुन्दर राजधानी प्रदान गर्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे