LISTEN LIVE RADIO

अब बन्ने राष्ट्रपति एमालेबाट बन्नेमा दुईमत छैन : एमाले नेता गुरुङ



देउखुरी ८ माघ । नेकपा एमाले पोलिटब्युराे सदस्य पार्वत गुरुङले एमालेबाट उम्मेदवारी दिने व्यक्ति नै राष्ट्रपति हुने ठाेकुवा गरेका छन् । दाङ-देउखुरीको लमहीमा प्रेस चौतारी दाङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सञ्चारमन्त्री समेत रहेका गुरुङले सत्तारूढ दलको बीचमा भएको सहमति बेगर कांग्रेस वा बाहिरबाट राष्ट्रपति चुनिने विषय हल्ला मात्रै भएको बताएका छन् ।

‘गुरूङ्गले कांग्रेसले एमाले र माओवादीको बीचमा अविश्वास सृजना गर्नको लागि चलाएको हल्ला मात्रै भएकाे टिप्पणी गरे । उनले एमाले भन्दा बाहिरबाट आउने व्यक्ति राष्ट्रपति हुँदैन’, ‘कांग्रेसको खेल केही दिनमा आफैँ सकिन्छ समेत बताए ।’

राष्ट्रपतिमा कसलाई पठाउने भन्ने विषयको टुंगो पार्टी भित्र हुने बैठकबाट टुंगो लाग्ने उनकाे भनाइ छ। ‘राष्ट्रपति एमालेकै हुन्छ। तर कसलाई पठाउने भन्ने निर्णय छलफलबाट टुंगिन्छ । जनताको छोरा या छोरी राष्ट्रपति हुन्छन् । जसले पनि यो अवसर पाउन सक्छ। त्यसको निर्णय एमालेले गर्छ’, नेता गुरुङले भने ।

उनले राष्ट्रपतिको गरिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बढाएको चर्चा गरे । ‘अघिल्लो सेरेमाेनियल राष्ट्रपति भन्थे । काम छैन भन्ने जस्तो कुरा चल्थ्यो । अहिले राष्ट्रपतिको पदलाई लिएर धेरै चर्चा र गरिमाको कुराहरू हुन थाल्यो’, उनले भने, ‘राष्ट्रपतिको गरिमा बढाउने काम विद्यादेवी भण्डारीले गर्नु भयो । त्यसैले गर्दा राष्ट्रपति को बन्ने भन्ने विषयले प्राथमिकता पायो ।’

कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्काएर एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई सही दिशामा अघि बढाएको जिकिरसमेत नेता गुरुङले गरे । ‘गठबन्धन भत्काएर मुलुकलाई स्थिरतातर्फ लग्ने काम भएको छ। यसलाई निरन्तरा दिनु नै आजको आवश्यकता हो’, उनले भने,‘नयाँ सरकार बनेदेखि मुलुकले सह‍ी दिशा पाउन थाल्यो ।’

गुरुङले संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत नभएको तर्क पनि गरे । ‘संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत होइन’, उनले भने, ‘कांग्रेसको अपरिपक्क राजनीतिले मुलुकलाई गलत दिशातर्फ ढकेल्ने प्रयत्न हुन थाल्यो।’

चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, अनुशासन आयोग सदस्य सरस्वती गौतम, प्रदेश कमिटी सदस्य कुलबहादुर केसी र गंगाराम भट्टराई लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे