LISTEN LIVE RADIO

पब्लिक एजुकेशनको मणिभ उत्सव कार्यक्रम सुरु, पहिलाे दिन प्रभातफेरी र खाद्यान्न सहयोग



भालुवाङ ७ माघ । राप्ती गाउँपालिका २ लालमटियामा रहेकाे पब्लिक एजुकेशन एकेडेमीले शनिवार देखि ६ दिन सम्म आफ्नो १५ औ वार्षिकोत्सवलाइ ‘मणिभ उत्सव’ को रुपमा मनाउन सुरु गरेकाे छ ।

एकेडेमीले माघ ७ गते देखि १२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘मणिभ उत्सव’ मनाउन लागेको हो । सोही अवसरमा एकेडेमीले ‘मणिभ उत्सव’का रुपमा माग ७ गते शनिवार प्रभातफेरी र निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ । ‘‘ज्ञान, सीप, संस्कारयुक्त, गुणस्तरीय शिक्षाः पब्लिक एजुकेशन एकेडेमीको प्रतिबद्धता’’ भन्ने मुल नाराका साथ स्थापित पब्लिक एजुकेशन एकेडेमीले शनिवार बिहान राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुल्चोक, पाखापानी, लालमटिय, लुम्बिनी प्रदेश सभाहल मौरीघाट हुँदै श्रीनारायण चोकसम्म प्रभातफेरी सम्पन्न गरेको छ ।

एकेडेमीले प्रभातफेरी सम्पन्न गर्दै राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा रहेकाे नीलसागर सेवा आश्रममा पुगेर त्यहाँ रहेका असहाय, अशक्तहरुलाई सहयोग स्वरुप खाद्यान्न सहयोग गरेको छ । एकेडेमीले नीलसागर सेवा आश्रमलाई सहयोग स्वरुप एक क्युन्टल चामल, दाल, तेल, नुन, आलु, पिठो, फलफुल, प्याज सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानन्द पाण्डेले बताए । सञ्चालक समितिका अध्यक्ष जीवराज शर्माले थोरै भएपनि मानव सेवा होस् भन्ने उद्देश्यले नीलसागर सेवा आश्रममा पुगेर खाद्यान्न सहयोग गरेको बताए । उनले भने ‘सामाजिक उत्तरदायित्व अन्तरगत यस प्रकारको सेवामुखी कार्यक्रम गरेको र आगामी दिनमा पनि निरन्तर दिने छौं ।’ उक्त खाद्यान्न सहयोग कार्यक्रममा अध्यक्ष जीवराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानन्द पाण्डे, शिक्षक अभिभावक संघका संयोजक बासुदेव न्यौपाने, सञ्चालक समितिका सदस्यहरु, देउखुरी शिक्षा सहकारी संस्थाकी उपाध्यक्ष कृष्णा पोख्रेल, शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण एकेडेमीका प्रध्यानाध्यापक विक्रान्त ज्ञवालीले गरेका थिए । सोही अवसरमा एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छात्रा राप्ती २ कटेशनालाकी सम्पदा पोख्रेलले पनि नीलसागर सेवा आश्रमलाई नगद सहयोग गरेकी थिइन् । ‘मणिभ उत्सव’ को दोस्रो दिन माघ ८ गते बिहान रक्तदान, खेलकुद प्रतियोगिता उद्घाटन रहेको एकेडेमीले जानकारी दिएको छ ।

देउखुरी शिक्षा सहकारी संस्था लि.द्वारा नाफामूलकभन्दा पनि सेवामूलक भई सञ्चालन गर्ने गरी वि.सं. २०६४ सालमा ‘‘सर्वसुलभ र गुणस्तरीय शिक्षाः देउखुरी शिक्षा सहकारी संस्थाको प्रतिबद्धता’’ भन्ने उद्देश्यका साथ स्थापना गरिएको यस विद्यालयले शुरुका वर्षदेखि नै न्यूनतम शुल्कमा गुणस्तीय शिक्षा प्रदान गर्दै आएको र जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे