LISTEN LIVE RADIO

महान् फुटबलर पेलेकाे निधन



महान् फुटबलर पेलेकाे निधन

काठमाण्डाै १५ पुस । फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो ।

यसअघि पेलेकाे अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए । तीन पटक ब्राजिललाई विश्व कपको उपाधि दिलाउन योगदान पुर्‍याएका पेले गएको महिनादेखि अस्पताल भर्ना भएका थिए ।

ब्राजिलको सानो सहर मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो । उनको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलले पाँच पटक विश्व कप जितेको छ । पाँचमध्ये तीन उपाधि जिताउने नायकका रूपमा पेलेलाई चिनिन्छ ।

पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् । २१ वर्षकाे लामाे फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गाेल गरेकाे विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीकाे पदक दिइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे