LISTEN LIVE RADIO

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्व कप फुटबलको क्वाटरफाइनलमा, अस्ट्रेलिया र अमेरिका बाहिरिए



अर्जेन्टिना र नेदरल्यान्ड्स विश्व कप फुटबलको क्वाटरफाइनलमा, अस्ट्रेलिया र अमेरिका बाहिरिए

काठमाण्डाै १८ मंसिर । अर्जेन्टिना कतारमा भइरहेकाे फिफा विश्व कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहान अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक–एक गोल गरे । अस्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

मेस्सीले खेलको ३५औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औँ मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो ।

खेलको ७७औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अस्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन । प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ ।

यस अघि गएराति भएको खेलमा अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स पनि अन्तिम आठमा पुगेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको राउण्ड अफ १६ अन्तर्गतको पहिलो खेलमा नेदरल्यान्ड्सले जित निकालेको हो ।

नेदरल्यान्ड्सका लागि मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक–एक गोल गरे। अमेरिकाका हाजी राइटले एक गोल फर्काए । जितसँगै नेदरल्यान्ड्स कतार विश्व कपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । अब क्वाटरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे