LISTEN LIVE RADIO

‘पार्टीकै सांसदलाई नियन्त्रण गर्न नसक्ने अवस्था आयो, अदालत सेटिङमा चल्यो’



‘पार्टीकै सांसदलाई नियन्त्रण गर्न नसक्ने अवस्था आयो, अदालत सेटिङमा चल्यो’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आठ महीनायता भैरहवामा छन् । त्यसैले पनि उनी काठमाडौंका मिडियामा हिजोआज देखा पर्दैनन् । उनलाई पनि आफू मिडियाबाट टाढिएको हो कि भन्ने परेको छ । अनलाइनकर्मी कमलदेव भट्टराईसँगको कुराकानीमा उनले भने, ‘असोजदेखि भैरहवा आएको । बीचमा राष्ट्रिय सम्मेलन थियो, चैतमा काठमाडौं गएँ । यहाँ अरू त केही होइन, मिडियाबाट अलि टाढिने क्या, काठमाडौंमा हुँदा मिडियाका साथीहरू कोठामा आइरहन्थे ।’ कुराकानीको शुरूआत अहिलेको राष्ट्रिय राजनीतिबाट नै गरियो । कुराकानीको क्रममा केसीले भने, ‘प्रतिगामीहरूले प्रतिनिधिसभा भंगलाई समर्थन गरेका छन्, नत्र त सामान्य प्रजातान्त्रिक र संवैधानिक शासन मान्ने कसले यो कदमलाई समर्थन गर्छ !’ प्रस्तुत छ केसीसँगको कुराकानी:

प्रतिनिधिसभा विघटनलाई कसरी लिनुभएको छ ?

यो त असंवैधानिक र अप्रजातान्त्रिक कदम हो । यो अपराध नै हो । संसद हत्तनपत्त बन्द गर्ने अनि अध्यादेशबाट ऐन कानून ल्याउने काम भयो ।

लामो समय कम्युनिष्ट आन्दोलनमा विताएका प्रधानमन्त्री केपी शर्मा ओलीले किन यस्तो कदम लिए होलान् त ?

यो एउटा प्रवृत्ति हो । उनले नेपालको इतिहासमा महाकाली सन्धि पारित गरेकै हुन् । गणतन्त्र ल्याउने बेलामा त उनी हामीसँगै थिए । तर ओलीको भूमिका चाहिं राम्रो थिएन । पछिल्लो पटक संविधान जारी गर्ने अवस्थामा ओलीले जुन उडान लिए, त्यसबाट हामी पनि झुक्कियौं, नेपाली जनता पनि झुक्किए ।

चिन्नै नसक्ने जन्तु त संसारमा मानिस न हो । महाकाली सन्धि पास गर्ने समयमा उनले कत्रा–कत्रा कुरा गरेका हुन्, त्यो कुरा अहिले सबैको कानमा गुन्जिरहेको छ । आज तपाईंलाई स्पष्ट रूपमा भनौं, २०६२/६३ को जनआन्दोलनताका हामीले चित्रलेखा यादवलाई सभामुख मानेर रत्नपार्कको सडकमा संसद चलाउँदा त्यहाँ मैले यो आन्दोलनमा पनि हिंड्ने, उता राजदरबारतिर ‘प्रभु म यतै छु, यता हिंड्न परेको हुनाले हिंडेको छु’ भन्ने मान्छे पनि हामीसँग छन् भनेको थिएँ ।

मैले सभामा यो कुरा भनिहालें, सभा सकिएपछि ओलीजीले आएर च्याप्प हात समात्नुभयो । ओलीले ‘म तपाईं सँगैसँगै छु, मलाई भनेको होइन तपाईंले’ भने । मैले ‘के तिम्रो नाम लिएर भनेको छु र यस्ता मान्छे पनि छन् भनेको हुँ’ भनें । त्यतिबेला सुवास नेम्वाङ र म वल्लो–पल्लो घरमा डेरा गरेर बस्ने गर्दथ्यौं । सुवासले रत्नपार्कमा ल मैले घर जाने ट्याक्सी बन्दोबस्त गरेको छु, त्यसैमा जाउँ भन्नुभयो । मलाई आश्चर्य लाग्यो, हामी सँगसँगै हिंडे पनि उहाँले कहिल्यै पनि त्यसो गर्नुहुँदैनथ्यो । के कारणले ट्याक्सीमा जाउँ भन्नुभयो भन्ने लाग्यो ।

उहाँले बन्दोबस्त गरेको ट्याक्सीमा चढ्ने बित्तिकै ‘ओलीलाई आज सक्दो दनक दिनुभो केसीजी’ भन्नुभयो । त्यो कुरा उनीहरूको मनमा पनि थियो । ओली गणतन्त्रको पक्षमा छैनन् भनेर उनीहरूले भन्न सकेका थिएनन् । मन चाहिं दरबारतिर, यता गणतन्त्रको जुलुसमा मिसिएन भने पछाडि परिन्छ भनेर हामीसँग । यसकारण मैले नाम नलिइकन भनेको नै ओलीजीलाई थियो । संसारमा मानिसले के गर्छ भन्ने बुझ्न नै कठिन हुन्छ ।

उनले पार्टी एकता गरे, शक्तिशाली पार्टी निर्माण गरे तर अहिले उनकै चाहनामा त्यो पार्टी फुटेको हो त ?

उनकै चाहना हो नि ! उनी इमानदार भए त संसद विघटन गर्ने बेलामा पार्टीभित्र छलफल गर्नुपर्ने हो । म पनि ६० वर्षदेखि पार्टी संचालन गरेको व्यक्ति हुँ । संसद विघटन जस्तो महत्वपूर्ण विषयमा त पार्टीले मान्छ कि मान्दैन भनेर सोध्नुपर्छ । पार्टीलाई बाइपास नै गर्न पाइँदैन ।

ओलीजीको तमासा देखियो । आफू नजित्ने अवस्था भए पार्टीको बैठकमा नै नजाने, पार्टीभित्र लोभीपापीलाई पद दिने । वामदेवलाई समेत प्रधानमन्त्री बनाउँछु भनेका हुन् । संविधान च्यात्ने काम गरे । नेपाली जनताले त्यत्रो महत्वपूर्ण पदमा पुर्‍याएको राष्ट्रपति पनि खेलौना बनिन् । यो सबै सुनियोजित नै हो

कतिपयले त बाहिरी शक्तिले उक्साएको पनि भनेका छन्, होला ?
यो त २००७ सालदेखि नै हो । इतिहास हेर्नुस् त । त्रिभुवनको निजी सचिव को थिए, विदेशीले बीपीको सचिवमा कसलाई राखेका थिए ! अनि यहाँ पंचायत ढल्नै लाग्यो, उताबाट आएर राजा वीरेन्द्रलाई जनमतसंग्रह गर्न भने । त्यसपछि लाखौं पारिका मान्छेलाई मतदाता नामावलीमा राखे । पछि आएर, कृष्णप्रसाद भटराईले त्यसलाई सदर गर्नुभयो । दुनियाँ हेर्नु न । सबै नेताको भूमिका हामीले देखिरहेका छौं ।

त्यसो हुनाले बाहिरका मान्छेको भूमिका गौण हो, मुख्य कुरा आफ्नो पदको लागि यहींका मान्छे लागे । जंगबहादुरको त्यो महत्वाकांक्षा नभएको भए कोतपर्व हुने थिएन । त्यसपछि ब्रिटिशले राणाहरूलाई कसरी खेलाए, २००७ सालपछि मातृका, बीपी लगायतका नेतालाई कसरी खेलाए ! ५० को दशकमा एमाले र माओवादीभित्र भारत कसरी खेल्यो सबै स्पष्ट छ नि !

हामीले कारबाही गरेको २४ घन्टा नबित्दै थापाको सांसद पद सर्वाेच्चले पुनर्स्थापना गरिदियो । अदालतमा ओलीजीको कत्रो सेटिङ रहेछ देखियो ।

भारतले खेल्नचाहिं हामीसँग पनि खोजेको हो । आफू विरुद्धमा जानेहरूलाई उनीहरू फुटेका आँखाले रुचाउँदैनन् । मूल कुरा उनीहरूले नेपालमा रहेका शासक र पार्टीहरूको कमजोरीबाट फाइदा उठाएका हुन् । उनीहरू संविधान रोक्न आए तर नेपालका नेताहरूले मानेनन् ।

रोगले जहिले पनि कमजोर व्यक्तिमाथि आक्रमण गर्छ । स्वस्थ मान्छेलाई रोगले छुन सक्दैन । त्यसैले २००७ सालअघिको, राजाको शासन, कांग्रेसको शासन हेर्नुस् । त्यसकारण हाम्रा कमि–कमजोरीमा उनीहरू खेल्ने र फाइदा उठाउने हो । हामी एकढिक्का भएको दिन उनीहरू पराजित भएका छन् ।

भारतले संविधान रोक्न त सकेन । त्यसैगरी युरोपियनले नेपाललाई जातीय प्रदेश बनाउन सकेनन् तर भारतले प्रदेश त बनाइछाड्यो । जतिवेला हाम्रो महत्वाकांक्षा, निजी स्वार्थलाई अगाडि राखेर हामी बिक्री हुन्छौं, उनीहरूले खेल्छन् ।

कम्युनिष्ट पार्टीमा भारतले बढी खेल्ने गरेको हो ?

होइन, सबै पार्टीमा खेलेका छन् नि ! आफैंले हामी कम्युनिष्ट होइन भन्दाभन्दै पनि हामी तिनलाई कम्युनिष्ट भन्दिन्छौं । मनमोहन अधिकारीले अमेरिकी पत्रकारहरूलाई अन्तर्वार्ता दिंदै ‘कम्युनिष्ट हाम्रो ट्रेडमार्क हो, नेपाली जनता वामपन्थीको पक्षमा छन् त्यसैले थोत्रो कोट भए पनि जाडोमा काम लाग्छ भनेर कम्युनिष्ट नाम राखेको हो’ भनेका थिए ।

मनमोहन अधिकारीले सत्य कुरा गर्नुभएको हो । मदन भण्डारीले बहुदलीय जनवाद भनेर माक्र्सवादलाई संशोधन गरेपछि कैयौं विदेशी खुशी भए । संसदीय व्यवस्थामा त ठूला व्यापारी, माफियाहरूले पैसा ओछ्याएर आउने न हो । संगठन र सिद्धान्तको आधारमा त एकदमै कम मान्छे मात्र जितेर आउँछन् ।

केपी ओलीले संविधान निर्माणताका मधेशवादी दलहरूको एजेण्डा मानेनन्, तर अहिले सहमत भए, त्यस पछाडिको कारण के होला ?

आफ्नो पार्टी ध्वस्त पारेपछि, आफ्नो संविधान ध्वस्त पारेपछि ओली भारतको शरण परेका हुन् । रअ प्रमुख आएर योजना बनाएपछि उनी सोही योजना अनुसार अगाडि बढेका हुन् । भारतीयहरूको योजना नै त्यही थियो । अहिले ओलीले आफ्नो रक्षा महन्थ ठाकुर र राजेन्द्र महतोलाई सामेल गरेर गरे । भारतीयहरूको एजेण्डा कार्यान्वयन गरेपछि उनले आफूलाई सुरक्षित देखे ।

आफ्नो पार्टी मार्फत जनताको काम गरेर होइन कि यो बीचमा अरूको सहयोग लिने काम भयो । यो एक प्रकारले पतन नै हो । मेरै हेर्नुस् न, उमेरको कारणले पार्टीको नेतृत्व गर्न सक्ने अवस्था छैन, तर देशभरिबाट आएका साथीहरूले ‘तँ नेतृत्वबाट भाग्न पाउँदैनस्’ भनेपछि फेरि जिम्मेवारी लिएको हुँ ।

बाहिर विरोधीहरूले पद नछोडेको भनेका छन् तर वास्तवमा त्यो होइन । सबैभन्दा महत्वपूर्ण कुरा पार्टीको नेताले पार्टीको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्नुपर्छ । तर ओलीले यो सबै छले र अल्पमतमा पर्ने भएपछि पार्टीको बैठकमा नै गएनन् ।

गण्डकी प्रदेशमा देखिएको पार्टी विवादलाई मिलाउन के गृहकार्य भइरहेको छ ?

हामी २०५१ सालदेखि संसदीय प्रणालीमा आएका हौं । त्यसबेलादेखि अहिलेसम्म हामी निरन्तर संसदमा छौं । धेरै साथी सांसद हुनुभयो । केहीले पार्टी छोडेर जानुभयो । तर पार्टीमा रहेसम्म उहाँहरूले पार्टीको निर्देशनलाई शिरोपर गर्नुभएको छ ।

मन्त्री र अन्य धेरै लोभलालचहरू आए होलान्, पद र पैसाका अफर आए होलान् । अहिलेसम्म सबैले पार्टीको निर्देशन माने । कृष्ण थापाले पृथ्वीसुब्बा गुरुङलाई हटाउने सवालमा मेरो विमति छ तर मैले पार्टीको निर्देशनलाई मान्छु भनी पटक–पटक भनेका हुन् । तरिका नै त्यही हो, पार्टीको निर्देशन मान्नुपर्छ ।

केपी ओलीजीसँग मेरो जति व्यक्तिगत सम्पर्क र सम्बन्ध छ, हाम्रो पार्टीका अरू सांसदको छैन । थापा आफैंले ओलीको पुस ५ गतेको कदम प्रतिगामी हो र हटाउनुपर्छ भनेर वक्तव्यहरूमा आयो । पछि उनले पार्टीको ह्वीप र निर्णय पालन गरेनन् र मुख्यमन्त्रीलाई हटाउने प्रस्तावमा सही गर्न मानेनन् ।

दलीय व्यवस्थामा पार्टीको ह्वीप नमानेपछि त पार्टीले कार्बाही गर्छ । यो संसदीय व्यवस्थाको सिद्धान्त हो । हामीले कारबाही गरेको २४ घन्टा नबित्दै थापाको सांसद पद सर्वाेच्चले पुनर्स्थापना गरिदियो । अदालतमा ओलीजीको कत्रो सेटिङ रहेछ देखियो । दलले आफ्नो सांसदलाई नियन्त्रण गर्न नसक्ने भएपछि दलीय व्यवस्था कसरी चल्छ ?

जसपाले पार्टीले निर्णय नमानेका कारण सरिता गिरीलाई तुरुन्त पार्टीबाट निष्कासन गरेको हो । ओलीलाई पार्टीका बहुमत केन्द्रीय सदस्यले हटाइसकेपछि पनि उनी अहिले पार्टीको अध्यक्ष भन्दै हिंडेका छन् । त्यसकारण उनी आफैं अवैधानिक छन् । अदालत सेटिङमा गयो ।

तपाईं अदालतमा साँठगाँठ देख्नुहुन्छ ?

एकदमै देखियो नि ! अदालतमा हजारौं मुद्दा होलान् तर हाम्रा सांसदको हकमा २४ घन्टामा फैसला आयो । पार्टीको ह्वीप नमानेको सांसदलाई यति छिट्टै पुनस्र्थापना गर्ने भनेको त सीधै सेटिङ हो नि ! त्यसभन्दा पहिला सर्वाेच्चले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै दल बनाउनुपर्छ भनेर फैसला दियो ।

साभार : अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे