LISTEN LIVE RADIO

सरकारी संरचना अपांगमैत्री नभएको गुनासो



सरकारी संरचना अपांगमैत्री नभएको गुनासो

शिवराज पन्थी, गढवा १८ मंसिर ।

पछिल्लो चरणमा निर्माण हँुदै गरेका सरकारी संरचनाहरु पनि अपांगमैत्री नभएको गढवामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । अपांगता भएका ब्यक्तिहरुलाई सरकारका निकायले खासै चाँसो नदिने गरेको र वडा कार्यालय तथा प्रशासनिक भवनहरु बनाउँदा पनि अपांगमैत्री नबनाउने गरेको उनीहरुले गुनासो गरेका हुन् ।

झमककुमारी घिमिरेले खुट्टाले लेखेर पुस्तक तयार गरेको डकुमेण्ट्रि देखाउँदा कार्यक्रममा सहभागी अपांगता भएका नागरिकहरुका आँखा रसाएको पाइन्थ्यो । कार्यक्रममा सहभागि कुजुराम चौधरी, शर्मिला पुन मगर, दिवाकर भण्डारी, जया बिक र तिलक परियार लगायतले अपांगता भएका ब्यक्तिहरुको सबालमा सरकार गंभिर हुनुपर्ने बताएका हुन् ।

गढवा गाउँपालिकाको आयोजना र रिड नेपाल,एएसबि जर्मन, देउखुरी सामुदायिक पुस्तकालय, रेडक्रस, आम्दा नेपाल र अपांग सञ्जाल गढवाको समन्वय र सहकार्यमा २९ औं अन्र्तराष्ट्रिय अपांग दिवस मनाइएको हो । अपांग संरक्षण समाज गढवाका अध्यक्ष भरतकुमार पन्तको अध्यक्षता र गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकी, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी र संरक्षणकर्मी उमाकान्त पन्तको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा देउखुरी सामुदायिक पुस्तकालयका ओभा पाठक, आम्दा नेपालका सुनिता चौधरी, रेडक्रस इन्कोर परियोजनाका थानेश्वर पोखे्रल, लक्ष्मण निरौला तथा गाउँपालिकाका कर्मचारी सुरेश पौडेल लगायतले अपांगताका प्रकार, राज्यले प्रदान गर्ने सेवा सुविधा र हक अधिकारका बारेमा बताएका थिए । कार्यक्रमको सहजीकरण सामुदायिक पुस्तकालयका ब्यवस्थापक मिना भट्टराइले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे