LISTEN LIVE RADIO

लमहीमा भक्ति थापाको २०७ औं स्मृति दिवस र कृति विमोचन



लमहीमा भक्ति थापाको २०७ औं स्मृति दिवस र कृति विमोचन

लमही १० वैशाख । लमहीमा राष्ट्रिय विभूति सरदार भक्ति थापाको २०७ औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ ।

पुवार थापा कल्याण समिति दाङ, देउखुरी साहित्य मञ्च दाङ र भक्ति थापा स्मृति प्रतिष्ठान दाङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ मुसन्डी निवासी ७४ वर्षिय वृद्धा दुर्गादेवी अधिकारीद्वारा लिखित गीति कथा “आमाको वेदना” कृतिको विमोचन गरिएको थियो ।

पुवार थापा कल्याण समितिका केन्द्रीय अध्यक्ष बोम बहादुर थापाले राष्ट्रिय विभूति सरदार भक्ति थापाको प्रतिमामा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

उद्घाटन र कृति विमोचन पछि भक्ति थापा स्मृति प्रतिष्ठानका सचिव हरिबहादुर थापाले राष्ट्रिय विभूति भक्तिको योगदान बारे लिखित प्रस्तुति राखेका थिए भने विमोचित कृतिको देउखुरी साहित्य मञ्चकी उपाध्यक्ष राधा गौतमले समीक्षा गरेकी थिइन् ।

सहिदको सम्झनापछि राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रममा प्रमुख अतिथि बोम बहादुर थापाले इतिहासको चर्चा गर्दै आर्थीक आत्मनिर्भरता नभएका साहित्यिक संस्थाहरुको निरन्तरता चुनौतिपूर्ण रहेको बताए ।

अग्रज ७४ वर्षकी श्रमिक एकल महिलाले समाजलाई निर्देशित गर्ने कृति लेख्नु हामी सबैका लागि प्रेरणा हो, अर्को कृति लेख्नुस् प्रकाशनको जिम्मेवारी पुवार थापा कल्याण समितिले बहन गर्न तयार छ भनेर प्रमुख अतिथिले वृद्धा लेखिकालाई हौसला प्रदान गरे ।

विशिष्ट अतिथि प्रतिष्ठानका सल्लाहकार जागेश्वर शर्मा घिमिरेले भक्ति थापाजस्ता युगौं युग पुरुषलाई वि.सं २०७८ असार १४ गते नेपाल सरकारले ढिलै भएपनि राष्ट्रिय विभूति घोषणा गरेको छ ।

यस कार्यका लागि निरन्तर लागिपर्नुहुने सबै वन्धुहरु धन्यवादका पात्र हुनुन्छ भन्दै विमोचित कृतिले व्यक्ति आमा र नेपाल आमा दुबै आमाको वेदना बोलेको चर्चा गरे । देउखुरी साहित्य मञ्चका संस्थापक उपाध्यक्ष हिमोड पहाडिले इतिहासको चर्चा गर्दै विमोचित कृतिले हामी सबैलाई प्रेरणा मिलेको बताए ।

अन्य वक्ताहरुमा समालोचक लेखराज रेग्मी, थारु भाषा तथा साहित्य संरक्षण मञ्चका अध्यक्ष छबिलाल कोपिला, देउखुरी बहुमुखि क्याम्पसका उप प्राध्यापक हरेकृष्ण ज्ञवाली, शंकर मावि पिपरीका प्रअ सुवर्णमान चौधरी, वन वातावरण महासंघका उमाकान्त पन्तलगायतले बोलेका थिए ।

कार्यक्रम सञ्चालकले प्रमुख अतिथिलाई प्याक गरिएका दुई कृति किनेर विमोचन गरिदिन अनुरोध गरिएको थियो । सो अवसरमा प्रमुख अतिथिले थप १० कृति पनि किनेका थिए । कृति समीक्षा पछि अधिकांश सहभागिले हातमा परेको कृतिको धेरै थोरै रकम दिएका थिए ।

समापनको अवसरमा सभाध्यक्षले २ हजार १० लेखिकालाई हस्तान्तरण गरेपनि उक्त रकम कृतिकारले आयोजक संस्थालाई नै प्रदान गरेका थिए । भक्ति थापा स्मृति प्रतिष्ठान दाङको सभाहल रातोडाँडा लमहीमा सम्पन्न कार्यक्रमका पाहुनाहरुलाई देउखुरी साहित्य मञ्चका वरिष्ठ उपाध्यक्ष शेरबहादुर चौधरीले स्वागत र कार्यक्रमको सञ्चालन प्रतिष्ठानका अध्यक्ष नीमबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे