LISTEN LIVE RADIO

राप्तीमा ३५ जना क्षयरोगका बिरामी, रोग निवारणका लागि बिरामी सँग स्वयमसेविका



भालुवाङ १० चैत । दाङमा वर्षेनी क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको सरकारी तथ्यांकले देखाएको छ । समुदायमा चेतनाको कमी र बिरामीहरुको लापरवाहीका कारण क्षयरोगीहरु बढ्दै गएको छ । तर दाङको राप्ती गाउँपालिकाले भने पालिका स्तरमा क्षयरोगका बिरामीको संख्या घटाउन बिरामी सँग अन्तरक्रिया सँगै स्वयम्सेविका परिचालन गरि अभियान चलाएको छ ।

आर्थिक वर्ष ०७४÷७५ देखि ०७९÷८० माघसम्मको क्षयरोग संक्रमणको दर हेर्दा घटेको देखिदैन । आर्थिक वर्ष ०७४÷७५ मा दाङमा ९ सय ४४ जना नयाँ बिरामी फेला परेका थिए । आर्थिक वर्ष ०७५÷७६ मा जिल्लामा आठ सय २८ जना नयाँ बिरामी फेला परे । आर्थिक वर्ष ०७६÷७७ मा बढेर नयाँ संक्रमित नौ सय १५ पुगे । त्यस्तै ०७७÷७८ मा नौ सय दुई, ०७८÷७९ मा ह्वात्तै बढेर एक हजार चार सय ५३ जना नयाँ क्षयरोगका विरामी फेला परेका थिए । त्यही अनुपातमा यस वर्ष पनि नयाँ बिरामी भेटिएको चालु आर्थिक वर्षको साउन देखि माघ सम्मको रेकर्डले देखाएको छ ।

०७९ साउन देखि माघ सम्म ६ सय ७५ जना नयाँ क्षयरोगका विरामी फेला परिसकेका छन् । नयाँ विरामी फेला परेसँगै पुरानैलाई दोहोरिने पनि देखिएका छन् । गत आर्थिक वर्षमा मात्रै दाङमा ७३ जनामा पुनः क्षयरोग देखिएको थियो । नयाँ संक्रमणको हिसावले लुम्बिनीमै दाङ दोस्रो धेरै क्षयरोगका विरामी रहेको जिल्ला हो ।  राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस आर्थिक वर्ष २०७८÷७९ को साउन देखि पुस सम्म ३५ जना विरामी रहेको २२ जना निको भएको तथा ३ जनाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । साथै उहाँले क्षयरोगको पहिचान र रोगबाट बच्न नागरिकहरुलाई सुझाव समेत दिएका छन् ।

बिरामीले नियमित ६ महिना सम्म खानुपर्ने औषधी नियमिति रुपमा सेवन गुरुन् र अन्य व्यक्तिमा रोग नसरोस भन्नका लागि सो अभियान चलाइएको छ । क्षयरोगका बिरामीहरु सरकारबाट निशुल्क उपचार पाउँदा र स्वमसेवकको निगरानीमा औषधी खाँदा निकै राहत मिलेको बिरामीहरुले बताएका छन् । बिरामीहरुलाई नियमित औषधी खुवाउन तथा उपचारमा स्वयमसेवकहरुले सेवा गर्न पाउँदा उनीहरु समेत खुसी भएका छन् । सेवा गरे मेवा पाइन्छ भन्ने उखानलाई सार्थकता दिन स्वयमसेविकाहरु विरामीको उपचारमा खटिएको स्वम्सेविका पम्फा अधिकारीले बताइन् ।

खानपिन र मानवीय लापरवाहीका कारण क्षयरोग बढ्दै गएकोले नागरिकहरुलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खानपिनमा ध्यान दिन र नशालु पदार्थबाट टाढा रहन सुझाव दिएका छन् । यसै बीच राप्ती गाउँपालिका स्वास्थ्य शाखाले हो क्षयरोग अन्त्य गर्छौ भन्ने मुल नाराका साथ शुक्रवार गाउँपालिकाको सभाहल मसुरीयामा विश्व क्षयरोग दिवसका अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षयरोगका बिरामीको उपचारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै गाउँपालिकाले स्वयमसेविकाहरु कुशुम चौधरी, सरस्वता पोख्रेल र पम्फा अधिकारीलाई सम्मानपत्र सहित सम्मान गरेको छ । भने विरामीहरु सँग उनीको समस्या र समाधानका विषयमा छलफल समेत गरिएको थियो । २० जना क्षयरोगका बिरामीहरुको सहभागिता रहेको कार्यक्रममा स्वागत तथा विषयवस्तु बारे जानकारी स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गराएका थिए भने कार्यक्रमको सञ्चालन हेल्थ असिस्टेन्ट पदमप्रसाद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे